सन् २०२३ मा करिब ७१ हजार जना नेपाली स्थायी बसोबास गर्न विदेश गएका छन्।
विभिन्न मुलुक गएका नेपालीले उल्लेख गरेका विवरणका आधारमा अध्यागमनले विभागले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेश गएका थिए। उनीहरूमध्ये ७० हजार नौ सय १५ जनाले स्थायी बसोबास गर्न आफ्नो मुलुक छाडेको खुलाएका छन्।
त्यस्तै ९१ हजार तीन सय ४९ जनाले अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख गरेका छन्।
विदेशमा रहेका आफ्नो परिवार भेट्न एक लाख ६७ हजार चार सय ८५ जना गएको तथ्यांकमा उल्लेख छ।
'यो विदेश जाँदा खुलाएको कारणबाट निकालिएको तथ्यांक हो। यस आधारमा धेरै नेपाली स्थायी बसाइँसराइ गरेर र अस्थायी बसोबासका लागि विदेश जाने गरेको देखिएको छ,' अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङले सेतोपाटीसँग भने।
हालसम्म विदेशमा स्थायी बसाइँसराइ गरेको जनसंख्या कति छ भन्ने आधिकारिक तथ्यांक पाइँदैन। राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार पाँच सय ९२ जना नेपाली विदेशमा रहेको देखाएको छ।
यसमध्ये १५ लाख ५५ हजार नौ सय ६१ परिवारका १७ लाख ९९ हजार नौ सय ७५ जना पुरूष र तीन लाख ९० हजार नौ सय १७ जना महिला छन्।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीका अनुसार घरपरिवार सर्वेक्षणका क्रममा प्रायः कहाँ बसाइँ छ भन्ने आधारमा यस्तो तथ्यांक निकालिएको हो।
'हामीले स्थायी वा अस्थायी बसाइँसराइको आधारमा नभई घरपरिवार सर्वेक्षणको क्रममा अनुपस्थित संख्याको अक्सर बसाइँ कहाँ हुन्छ भन्ने आधारमा यस्तो तथ्यांक निकालेका हौं,' रेग्मीले भने।
राष्ट्रिय जनगणनाको यो तथ्यांकले वैदेशिक रोजगारीमा रहेको वा विदेशमा नै बस्ने गरी गएको सबै तथ्यांक बुझाउने तथ्यांक अधिकारीहरू बताउँछन्।
अध्यागमनले विभागको तथ्यांकले विदेश जानेमध्ये आधा नेपाली रोजगारीबाहेकको प्रयोजनमा जाने गरेको पाइएको छ। सन् २०२३ मा १६ लाख तीन हजार ८३६ नेपाली विदेश पुगेका छन्। उनीहरूमध्ये ८ लाख आठ हजार ४१५ जना रोजगारीका लागि खुलाएका छन्। उनीहरू श्रम स्वीकृति लिएर विदेश गएका हुन्।
त्यस्तै श्रम स्वीकृति नलिएर पनि रोजगारीका लागि भन्दै ६ हजार तीन सय ३४ जना विदेश गएका छन्। 
नेपालीहरू सबभन्दा धेरै गएको देश भने दुबई हो। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पनि सबभन्दा बढी श्रम स्वीकृति लिएर दुबईकै लागि लिइन्छ। त्यस्तै दोस्रोमा भारत, तेस्रोमा कतार, चौथोमा मलेसिया र पाँचौंमा साउदी अरब गएका छन्।
	
		
			| सन् २०२३ मा विदेश गएका नेपालीले देखाएको कारण र संख्या | 
		
			| कारण | संख्या | 
		
			| वैदेशिक रोजगारी | आठ लाख आठ हजार ४१५ जना | 
		
			| पर्यटन तथा धार्मिक भ्रमण | दुई लाख चार हजार ५१८ जना | 
		
			| पारिवारिक भेटघाट | एक लाख ६७ हजार ४८५ जना | 
		
			| अध्ययन | एक लाख आठ हजार ५४२ जना | 
		
			| अस्थायी बसोबास | ९२ हजार ३४९ जना | 
		
			| स्थायी बसोबास | ७० हजार ९१५ जना | 
		
			| सेमिनार | २४ हजार २६३ जना | 
		
			| डिपेन्डेन्ट | २० हजार ६१३ | 
		
			| उपचार | १९ हजार ५०९ जना | 
		
			| व्यवसाय | १८ हजार ९६४ जना | 
		
			| औपचारिक भ्रमण | १६ हजार १११ जना | 
		
			| श्रम स्वीकृती नलिई रोजगारी | आठ हजार ८६ जना | 
		
			| युएन मिसन | ६ हजार ५८ जना | 
		
			| खेलकुद | तीन हजार ६५३ जना | 
		
			| सांस्कृतिक कार्यक्रम | एक हजार ९६४ जना | 
		
			| अन्य | ३२ हजार ३९१ जना |