एनआइसी एसिया बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले त्यसको अनुसन्धान गर्ने भएको छ।
गत असारमा बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रूपैयाँ लगानी गरेको 'वासल-३' अनुसारको आफ्नो रिपोर्टमा देखाएको थियो। तर पुसमा बैंकले सार्वजनिक गरेको यही वासल-३ अनुसारको रिपोर्टमा भने यस्तो कर्जा ७९ अर्बले वृद्धि भएर एक खर्ब ३३ अर्ब रूपैयाँ पुगेको थियो।
'बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि यसको अनुसन्धान गर्नुपर्ने देखिएको हो,' राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने।
बैंकहरूले यस्तो कर्जाका लागि अन्य कर्जामा भन्दा कम जोखिम भार राख्न सक्ने भएकाले पनि यस्तो चलाखी गरिएको आशंकामा राष्ट्र बैंकले अध्ययन गर्न लागेको हो।
बैंकहरूले कुन शीर्षकमा गएको कर्जाको जोखिमको आधारमा कति रकम प्रावधानमा राखेका छन् भनेर वासल-३ को रिपोर्टमा देखाइएको हुन्छ। वासल-३ वित्तीय स्थायित्व कायम गर्ने गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय रूपमा जारी भएको मापदण्ड हो। यसअघि वासल-१ र वासल २ जारी भइसकेका थिए। यो त्यसैको परिमार्जित रूप हो।
एनआइसी एसिया बैंकको वासल-३ को रिपोर्टमा आवासीय कर्जामा असारमा भन्दा उच्च दरले वृद्धि भएको देखिएको हो।
राष्ट्र बैंकले कस्तो कर्जामा कति रकम प्रावधानमा राख्ने भनेर तोकिदिएको हुन्छ। यस्तो प्रावधान अनुसार कर्जा रकमको एक सय ५० प्रतिशतसम्म जोखिम भार मानेर रकम राख्नुपर्छ।
हाल आवासीय घर कर्जाको जोखिम भार ६० प्रतिशत, व्यावसायिक घरजग्गा कर्जाका लागि एक सय २५ प्रतिशत, ५० लाख रूपैयाँ माथिको सेयर कर्जामा एक सय २५ प्रतिशत मानेर त्यसै अनुसार प्रावधानमा रकम राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
मानौं, कुनै बैंकले १० लाख रूपैयाँको आवासीय कर्जा दिएको छ। ६० प्रतिशतको आधारमा ६ लाख रूपैयाँ जोखिम भारित सम्पत्तिको रूपमा रहन्छ। र, यसैको आधारमा पुँजी कोष अनुपात कायम गरिन्छ।
एनआइसी एसिया बैंकले असारदेखि पुससम्म आइपुग्दा आवासीय कर्जामा ७९ अर्ब रूपैयाँले वृद्धि भएर एक खर्ब ३३ अर्ब रूपैयाँ पुगेको देखाएको छ। यसअनुसार बैंकले ८० अर्ब रूपैयाँ जोखिम भारित सम्पत्तिको रूपमा राखेर प्रावधानमा राखेको छ।
असारयता आवासीय कर्जामा केही न केही वृद्धि अवश्य नै भएको होला। तर अहिले देखाइए जतिले नै वृद्धि नभएको आशंकामा राष्ट्र बैंक पनि पुगेको हो। यदि आवासीय कर्जामा बैंकले देखाएभन्दा कम वृद्धि भएको छ भने बैंकले कम प्रावधान राखे हुने अवस्था बनेको छ।
मानौं, अहिले बैंकले आवासीय कर्जामा भनेको वृद्धि ७९ अर्ब नभई ३० अर्बको मात्र वृद्धि हो। यस्तो अवस्थामा बैंकले आवासीय कर्जामा कुल ८४ अर्ब लगानी गरेको हुने थियो। यस आधारमा बैंकले यस्तो कर्जाका लागि ५० अर्ब रूपैयाँ जोखिम भार मानेर प्रावधान राखे पुग्छ। बाँकी ४९ अर्ब रूपैयाँको कर्जा अन्य कुनै एक सय प्रतिशत भार राख्नुपर्ने कर्जाको थियो भने पनि बैंकले ४९ अर्ब रूपैयाँ थप जोखिम भार मानेर प्रावधान राख्नुपर्ने हुन्थ्यो।
यसरी थपिएको कर्जा ७९ अर्बका लागि कुल ९९ अर्ब रूपैयाँ जोखिम भार मानेर प्रावधान राख्नुपर्ने हुन्थ्यो। तर कम जोखिम भारकै कर्जामा अत्यधिक वृद्धि देखाउँदा अहिले बैंकलाई ८० अर्ब रूपैयाँ मात्रै जोखिम भार मानेर प्रावधान राखे हुने भएको हो।
त्यस्तै यदि एक सय २५ प्रतिशतसम्म भार राख्नुपर्ने कर्जा थियो भने यस आधारमा एनआइसी एसिया बैंकले थपिएको कुल ७९ अर्बका लागि मात्रै एक खर्ब ११ अर्ब रूपैयाँ जोखिम भार मानेर प्रावधान राख्नुपर्थ्यो।
यसरी प्रावधानमा राखिने रकम बैंकले लगानीका लागि प्रयोग गर्न पाउँदैनन्। त्यस्तै बैंकहरूले यस्तो जोखिममा आधारित सम्पत्ति (कर्जा)का आधारमा समेत निश्चित प्रतिशत पुँजी कोष अनुपात कायम गरेकै हुनुपर्छ।
बैंकहरूको प्राथमिक पुँजी कोषलाई कुल जोखिम भारले भाग गरेर यस्तो अनुपात निकालिएको हुन्छ। बैंकहरूको सेयर पुँजी, सञ्चित आम्दानी, ऋणपत्रको भुक्तानी दिन राखिएको रकम लगायत जोडेर प्राथमिक पुँजी कोष बनेको हुन्छ।
बैंकहरूको प्राथमिक पुँजीको आधारमा कुल जोखिम भार कम्तिमा ८.५ प्रतिशत हुनुपर्छ। आर्थिक वर्षको कुनै एक त्रैमासमा यस्तो अनुपात ८.५ प्रतिशत कम भयो भने पनि बैंकहरूले लाभांश बाँड्न पाउँदैनन्। यसअघि पनि एनआइसी एसिया बैंकले दुई वर्षसम्म लाभांश बाँड्न पाएको थिएन भने त्यसपछि एकैपटक गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट मात्रै लाभांश बाँडेको थियो। बैंकले सो समय ३०.५२ प्रतिशत लाभांश बाँडेको थियो।
बैंकले भने असारमा जोखिम भार गणनामा त्रुटि भएसँगै राष्ट्र बैंककै सल्लाहअनुसार पुसमा पुनः जोखिम भार गणना गर्दा यस्तो फरक देखिएको दाबी गरेको छ।
बैंकका प्रवक्ता अर्जुन खनियाँले भने, 'यसमा धेरैको बुझाइ फरक देखिएको छ। हामीले यसअघि केहीमा राख्नुपर्ने भन्दा कम र केहीमा राख्नुपर्ने भन्दा बढी जोखिम भार राखिरहेका रहेछौं। राष्ट्र बैंकको सुझावपछि हामीले समायोजन गर्दा यो फरक देखिएको हो।'