सामाजिक सुरक्षा र विकासदेखि कृषि क्षेत्रको विकासम्म, शैक्षिक मुद्दादेखि महानगर सरसफाइ योजनामा बहुसंख्यक पुरानै कार्यक्रम र नारालाई निरन्तरता दिँदै विराटनगर महानगरले आउँदो वर्षको बजेट सार्वजनिक गरेको छ।
सोमबार आयोजित महानगरको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८१–८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी छन्।
महानगरले पहिले झैं यसपटक पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। तर, कार्यक्रहरु भने सबै पुरानैले निरन्तरता पाएका छन्। महानगरीय सुलभ फार्मेसीको स्थापना तथा संचालन गर्ने,छोरी बचाउ छोरी पढाऊ कार्यक्रमअन्तर्गत पहिलो र लगातार दोस्रो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन बापतउपलब्ध गराउंदै आएको रकमलाई निरन्तरता दिने महानगरले जनाएको छ।
त्यसैगरी कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लगि कृषि क्षेत्रमा व्यवसायिकरण, यान्त्रीकरण एवम आधुनिकीकरणतथा सिंचाइमा जोड दिने, जलवायू परिर्वतन रासायनिक विषादीको प्रयोगबाट पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै वातावरणमैत्री प्राङगारिक कृषिलाई प्राथमिकता दिने, सामुदाष्कि विद्यालयको स्तर सुधारका लागि जोड दिने महानगरले जनाएको छ।
बेरुजु घट्यो
विराटनगर महानगरमा बेरुजु घट्.दै गएको महानगरले जनाएको छ।
आर्थिक वर्ष ०७८।०७९ सम्मको जम्मा बेरुजु ६७ करोड ९ लाख ७२ हजार बाँकी रहेकोमा यो वर्ष २३ करोड ८३ लाख फरछयौट भएको छ। त्यस्तै गत विगतसम्मको जम्मा बाँकी बेरुजु ४३ करोड ९ लाख ७२ हजार कायम भएको र २०७९।०८० को अन्तिम लेखा परीक्षणबाट ७ करोड ११ लाख ५३ हजार अर्थात् १.०३ प्रतिशत बेरुजु कायम भई मोरङकै सबैभन्दा कम बेरुजु भएको पालिका भएको महानगरले जनाएको छ।
आयमा संकुचन
आर्थिक वर्ष २०८०।०८१ का लागि ३ अर्ब ३६ करोड १७ लाख २५ हजार ६ सय २६ रुपैँया आय अनुमान गरेको महानगरले २०८१ जेठमसान्त सम्ममा २ अर्ब ३७ करोड ५४ लाख ६२ हजार ७ सय ३१ रुपैँया अर्थात् ६०ं.६६प्रतिशत मात्र यथार्थ आय भएको जनाएको छ।
कुल अनुमानित आयमध्ये आन्तरिक आयतर्फ ८९ करोड ५० लाख अनुमान गरेको महानगरले त्यही लक्ष्य पनि नभेटेको पाइएको छ।
जेठ मसान्तसम्ममा ४१ करोड ९८ लाख २५ हजार ६५५ रुपैँया अर्थात् ४६.९० प्रतिशत मात्र यथार्थ आन्तरिक आय संकलन भएको छ।
यसैगरी संघीय सरकार समानीकरण अनुदानतर्फ ३४ करोड ८६ लाख अनुमान गरेको महानगरले २५ करोड ८३ लाख ४७ हजार ४६० रुपैँया अनुदान प्राप्त गरेको छ भने संघीय सरकार शसर्त अनुदानतर्फ ७९ करोड ४ लाख १६ हजार अनुमान गरेकोमध्ये ७८ करोड १८ लाख १२ हजार ३६० रुपैँया प्राप्त गरेको छ।
संघीय सरकार विशेष अनुदान तर्फ ६ करोड अनुमान गर्दा ३ करोड, संघीय सरकार समपूरक अनुदान ६० लाख अनुमान गर्दा जेठ मसान्त सम्म १० लाख मात्रै महानगरले प्राप्त गरेको छ।
यसैगरी प्रदेश सरकार समानीकरण अनुदान तर्फ २ करोड ४० लाख ८८ हजार अनुमान गर्दा महानगरले सोही बराबरको अनुदान रकम प्राप्त गरेको छ।
प्रदेश सरकार शसर्त अनुदानतर्फ २ करोड ९७ लाख ४३ हजार अनुमान गर्दा २ करोड २८ लाख ६८ हजार अनुदान प्राप्त भएको महानगरले जनाएको छ।
यस्तो छ खर्चको अवस्था
महानगरले आर्थिक वर्ष २०८०।०८१ को अनुमानित व्यय ३अर्ब ३६ करोड १७ लाख २५ हजार ६२६ रुपैँया थियो। तर, जेठ मसान्तसम्ममा २ अर्ब १५ करोड ६० लाख १ हजार ७६५ रुपैँया अर्थात् ६४.१३ प्रतिशतमात्र खर्च भएको छ।
चालु खर्चतर्फ १ अर्ब २५ करोड ११ लाख ७७ हजार ५७१ रुपैँया अर्थात् ७६.४५ प्रतिशत खर्च भएको छ।
यसैगरी पुँजीगत खर्चतर्फ ८८ करोड १३ लाख ६६ हजार ४८४ रुपैँया अर्थात् ५२.६१ प्रतिशत खर्च भएको महानगरले जनाएको छ।
यस्तो छ खर्च अनुमान
आउँदो आर्थिक वर्षका लागि महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५९ करोड विनियोजन गरेको छ भने ऋणको सावाँ ब्याज भुक्तानीका लागि ५ करोड, चालु खर्च तर्फको दायित्व भुक्तानी ३ करोड ३४ लाख ८३ हजार विनियोजन गरेको छ।
समपूरक कार्यक्रम ६ करोड १० लाख, वडास्तरीय योजना तर्फ ४३ करोड ३ लाख १२ हजार,बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरुको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेश समृद्धि कार्यक्रम तर्फ ५ करोड ६० लाख,सामाजिक विकास क्षेत्र अर्न्तगत शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख१ हजार,स्वास्थ्य विकास कार्यक्रम तर्फ २० करोड ५७ लाख ९३ हजार,महिला लक्षित कार्यक्रम तर्फ ९९ लाख ५७ हजार रुपैयाँ महानगरले छुट्याएको छ।
महानगरका मेयर नागेश कोइरालाले यसबीचमा प्राप्त उपलब्धिहरु नगरसभामा सुनाएका थिए।
उनका अनुसार करिब २२ करोडको लागतमा जीर्णोद्वार गरिएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ।
अहिले पनि करिब १ अर्ब १५ करोडभन्दा बढीका साना ठूला परियोजना सञ्चालनमा रहेको उल्लेख गर्दै उनले भने, ‘ बितेको दुई वर्षमा २० किलोमिटर सडक कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ। विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण सम्पन्न गर्न सफल भएका छौं। विराटनगरमा भएका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक सहयोगमा बरगाछी–रानी सडकको सौन्दर्यकरण परियोजना सुरु गरेका छौं।’
महानगरले विगत दुई वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर र आँखा शिविर सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको जानकारी पनि दिएका छन्।
पूर्णपाठः