सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ।
असार ८ गते उपमहानगरपालिकाको ११ औं नगर सभामा उपप्रमुख कन्दकलाकुमारी रानाले अनुमानित बजेट प्रस्तुत गरेकी थिइन्।
चालुतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार र पुँजीगततर्फ ९८ करोड २६ लाख ८८ हजार रूपैयाँको बजेट उपमहानगरपालिकाले ल्याएको हो।
सार्वजनिक गरेको बजेटमा क्षेत्रगत विकास अन्तर्गत आर्थिक विकासतर्फ छ करोड छ लाख ३१ हजार रूपैयाँ विनियोजन गरेको छ।
यस्तै, पूर्वाधार विकासतर्फ ६० करोड ७९ लाख ८६ हजार रूपैयाँ, सुशासन तथा अन्तर सम्बन्धिततर्फ १८ करोड ५२ लाख ३१ हजार रूपैयाँ, कार्यालय सञ्चालनतर्फ ३१ करोड ६३ लाख सात हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ।
यस्तै, सामाजिक विकासतर्फ एक अर्ब १५ लाख ७७ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।
यस्तै, आन्तरिक आय ३६ करोड ६९ लाख ७६ हजार रूपैयाँ आम्दानी रहेको बजेटमा उल्लेख छ।
यस्तै, राजस्व बाँडफाँटतर्फ ४८ करोड २९ लाख ४५ हजार रूपैयाँ, अन्तर सरकार वित्तीय हस्तान्तरण नेपाल सरकारबाट एक अर्ब १ करोड ८७ लाख २६ हजार रूपैयाँ, अन्य सरकारी वित्तीय हस्तान्तरण प्रदेश सरकारबाट ८ करोड २८ लाख २८ हजार रूपैयाँ रहको जनाइएको छ। यस्तै सरिआएको मौज्दात रकम २३ करोड २७ लाख ४६ हजार रूपैयाँ रहेको छ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षको आय र व्ययको सुरू अनुमानभन्दा आगामी आर्थिक २०८१/८२ को आय, व्ययको अनुमान रकम २३ करोड ४७ लाख ७२ हजार २ रूपैयाँले बढी हुने अनुमान गरिएको छ।
यस्तै, ५० करोड सामाजिक सुरक्षा अनुमानित बजेट, १ करोड ५६ लाख सडक बोर्ड नेपाल अनुमानित रकम र उपमहानगरपालिकाभित्र कार्यक्रम सञ्चालन हुने विभिन्न संघसंस्थाले प्रस्तावित बजेट रकम १८ करोड ५ लाख रहने बजेटमा उल्लेख छ।
उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको उद्देश्य
‘हाम्रो धनगढी हामी बनाउँछौं,’ अभियानका साथै ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानलाई उच्च प्राथमिकता उपमहानगरपालिकाले दिएको छ।
यस्तै, उपमहानगर क्षेत्रभित्र अतिक्रमणमा रहेका तालतलैया, खोलानाला, जग्गा लगायतका सार्वजनिक सम्पत्तिलाई पहिलाकै अवस्थामा फर्काइने व्यवस्था गर्ने पनि उपमहानगरपालिकाले जनाएको छ।
‘हाम्रो चाहना उपमहानगरबासीको सु–स्वास्थ्यको कामना’ भन्ने नारालाई अभियानको रूपमा सञ्चालन गरी नगरबासीलाई सर्वसुलभ रूपमा स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकतामा नगरबासीलाई पहुँच स्थापित गर्ने पनि बजेटमा समावेश गरिएको छ।
गुणस्तरीय र दिगो पूर्वाधार निर्माण मार्फत् उपमहानगरलाई ‘बसोबास योग्य हरित सहरःसमुन्नत धनगढी उपमहानगर’ उपमहानगरको रूपमा विकास गर्ने बजेटको उद्देश्य हो।
सामुदायिक विद्यालयको गुणस्तर सुधार कार्यक्रमका लागि ‘एक वडा, एक नमूना विद्यालय’ विकास गर्ने कार्यलाई निरन्तरता दिँदै समग्र विद्यालयहरूको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने काम बजेटको उद्देश्य रहेको छ।
यस्तै, प्राथमिकताका आधारमा उपमहानगरको स्थानीय आवश्यकता पहिचानगरी स्थानीय विकास साझेदारी निकायहरूको समन्वय सहकारिता र साझेदारी गर्दै कृषि तथा पशुपन्क्षी, उद्योग, वन तथा वातावरण र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उपमहानगरपालिकाको बजेटको मुख्य उद्देश्य रहेको जनाइएको छ।
आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताहरू
अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा, ताल, पोखरी लगायतका सम्पत्तिको संरक्षण एवम् व्यवस्थापन गर्ने जनाइएको छ।
शिक्षा, स्वास्थ्य तथा खानेपानीको गुणस्तर सुधार एवम् सर्वसुलभ पहुँच, पर्यावरणीय सुदृढीकरणका लागि हरियाली प्रवर्द्धन, सौन्दर्य तथा रात्रिकालीन बजार प्रवर्द्धन गर्ने बजेटका मुख्य प्राथमिकता हुन्।
यस्तै, लोककल्याणकारी उपमहानगरमार्फत् सामाजिक विकास एवम् गरिबी न्यूनीकरण गर्ने, कृषि तथा पशुपंक्षी उत्पादन तथा उत्पादकत्व अभिवृद्धि तथा व्यावसायीकरण, उद्यम विकास, सहकारीमार्फत् युवा तथा अति विपन्नका लागि स्वरोजगार गर्ने जनाइएको छ।
यस्तै, खेलकुद विकासका लागि ग्रासरूट लेभल कार्यक्रम, भ्रष्टाचारविरूद्ध शून्य सहनशिलता, दिगो, भरपर्दाे पूर्वाधार निर्माण एवम् संरक्षण, आर्थिक विकास तथा राजस्व परिचालन गर्ने बजेटको मुख्य प्राथमिकतामा रहेका छन्।
सूचना प्रविधि तथा सञ्चार, मानव संशाधन विकास तथा संस्थागत सुशासन, संस्कृति तथा पर्यटक प्रवर्द्धन वन तथा वातावरण संरक्षण एवम् सामुदायिक वनको दिगो उपयोग, प्राकृतिक विपद् व्यवस्थापन गर्ने बजेटमा उल्लेख गरिएको छ।
यस्तै लागू औषध दुर्व्यवसनी, अशक्त, असहाय एवम् आर्थिक रूपले विपन्न गर्भवती महिला, जेष्ठ नागरिक एवम् अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग गर्ने बजेटका मुख्य प्राथमिकता हुन्।