श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरु धेरै भएको भन्दै त्यसलाई नियन्त्रण गर्न धरौटी बढाउने प्रस्ताव अघि सारेको छ। ६ करोड धरौटी बढाउने गरी मन्त्रालयले सो प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेश गरेको छ।
अहिले ७ लाख नगद धरौटी र २३ लाख बैंक ग्यारेन्टी राखे म्यानपावर खोल्न सकिन्छ। हचुवाको भरमा श्रम मन्त्रालयले म्यानपावरको धरौटी बढाउन लागेको भन्दै ब्यवसायीहरुले आक्रोश पोखेका छन् ।
बुधबार नेपाल वैदेशिक रोजगार ब्यवसायी महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ब्यवसायीहरुले मन्त्रालयले प्रस्तावको घोर विरोध गरेका छन् ।
भेलाले म्यानपावरको धरौटी बढाइ पहिल्यै राख्न माग गरेको संघका अध्यक्ष रोहण गुरुङ्गले बताए। धरौटी बढाइएको खण्डमा म्यानपावरको इजाजत पत्र लाइसेन्स श्रम मन्त्रीलाई बुझाइने उनले बताए।
धरौटी बढाउने प्रस्ताव फिर्ता लिन माग गर्दै संघले प्रस्ताव नलिइ कारबाही प्रक्रिया अघि बढाए पुर्व र अन्तिम स्वीकृति लिने काम बन्द गर्ने चेतावनी दिएका छन् ।
धरौटी बढाउने प्रस्ताव फिर्ता लिनका लागि संघले प्रधानमन्त्री, मन्त्री लगायतका सम्बन्धित निकायहरुलाई घच्घचाउन समिति बनाउने निर्णय भेलाले गरेको छ । अहिले १४ सय १५ म्यानपावर दर्ता छन् ।
१ सय ५० वटा दर्ता प्रक्रियामा छन् । मन्त्रालयले धरौटी बढाउने प्रस्ताव गरिरहदाँ संघ मुग्दर्शक बनेर बसेको भन्दै कांग्रेस निकट ब्यवसायीहरुले अध्यक्ष गुरुङ्गको आलोचना गरेका थिए।
भेलामा केही असन्तुष्ट ब्यवसायीहरुले हात हालाहातसमेत गरी अर्मयादित ब्यवहार देखाएका थिए।