सेयर बजार विश्लेषण
कुनै समय निकै माथि पुगेको लघुवित्त कम्पनीहरूको सेयर मूल्य अहिले निकै घटेको छ। त्यसैले सेयर बजारमा निकै उतारचढाव भइरहेका बेला सेयर लगानीका लागि लघुवित्त कम्पनीहरू उपयुक्त हुन सक्ने ब्रोकरहरू बताउँछन्।
उनीहरूका अनुसार लघुवित्त कम्पनीहरू आकर्षक हुनुमा तीन कारण छन् —
१. मूल्यमा गिरावट
कुनै समय अधिकांश लघुवित्त कम्पनीको सेयर प्रतिकित्ता एक हजार रूपैयाँभन्दा बढीमा कारोबार हुन्थ्यो। अहिले यस्ता कम्पनीको सेयर त्योभन्दा कममा कारोबार भइरहेको छ।
त्यसैले उच्च दरमा मूल्य घटेको यो समय यस्ता कम्पनीको सेयर किन्न लाभदायक हुन सक्ने ब्रोकरहरू बताउँछन्।
२. धेरै घटबढ हुने सेयर
लघुवित्त कम्पनीहरूको चुक्ता पुँजी तुलनात्मक रूपमा कम छ। त्यसैले बजारमा यस्ता कम्पनीको सेयर आपूर्ति पनि कम हुन्छ। यी कम्पनीको सेयर मूल्य बढ्दा उच्च दरले बढ्छ र घट्दा पनि उच्च दरले घट्छ।
अहिले उच्च दरले मूल्य घटेको समयमा यस्ता कम्पनीको सेयर किन्न सस्तो पर्ने ब्रोकरहरू बताउँछन्। यसमा जोखिम पनि त्यही अनुसार हुन्छ। तर मूल्य कम रहेकाले जोखिम कम हुने उनीहरूको भनाइ छ।
३. लाभांश क्षमता राम्रो
कम पुँजी भएकाले लघुवित्त कम्पनीहरूको लाभांश क्षमता उच्च छ। कतिपय लघुवित्त कम्पनीको लाभांश वितरण क्षमता ६० प्रतिशतभन्दा माथि छ। यसले पनि यी कम्पनीको सेयरलाई आकर्षक बनाएको ब्रोकरहरू बताउँछन्।
लगानीका लागि कुन कम्पनी छान्ने?
सेयर लगानीकर्ताहरूलाई चिन्तित बनाउने मुख्य प्रश्न यही हो। यसका लागि हामीले केही ब्रोकरसँग कुरा गरेका छौं।
उनीहरूका अनुसार बजार बढ्दा सबै कम्पनीको सेयर मूल्य बढ्नु स्वाभाविक हो। तर लगानीकर्ताहरूले सेयर किन्दा लाभांश दिने क्षमता भएका र वित्तीय रूपले सुदृढ कम्पनी छान्नुपर्ने ब्रोकरहरू बताउँछन्।
कतिपय लघुवित्त कम्पनीको खराब कर्जा उच्च छ। यस्तोमा खराब कर्जा तीन प्रतिशतभन्दा कम भएका कम्पनीलाई प्राथमिकता दिँदा जोखिम कम हुन्छ।
कतिपय लघुवित्त कम्पनीहरू मर्जरमा गइरहेका छन्। मर्जरमा जाँदा लामो समय लाग्ने भएकाले लगानीकर्ताहरूको पुँजी लामो समय होल्ड हुन सक्छ। त्यसैले यस्ता पक्षलाई ध्यान दिएर लगानी गर्नुपर्ने ब्रोकरहरू सुझाउँछन्।
'कम्पनीहरू मर्जरमै जाने अवस्था आए पनि समस्या नहोस् भनेर बलियो कम्पनी छान्नुपर्छ,' एक सेयर ब्रोकरले भने, 'खराब कर्जा कम भएको, सञ्चित रकम राम्रो भएको र प्रतिसेयर नेटवर्थ राम्रो भएको कम्पनी छान्न सके जोखिम कम हुन्छ।'
तर लगानी गर्नुअघि कम्पनीको वित्तीय विवरण, सेयर मूल्यको ट्रेन्ड र बजारको जोखिम राम्ररी अध्ययन गर्नुपर्ने उनीहरूको सुझाव छ। सेयर लगानीको निर्णय व्यक्तिगत विवेक र जोखिम सहने क्षमतामा आधारित हुने उनीहरू बताउँछन्।
***