प्रधानमन्त्री रोजगार कार्यक्रमअनुरुप सिराहाको लहान नगरपालिकाले आह्वान गरेको आवेदनमा २५० जना सहभागी भए।
तीमध्ये नगरपालिकाले जम्मा २० जनालाई छनौट गर्यो। छनौट भएकामध्ये १९ जना महिला र १ जना पुरुष छन्। उनीहरुलाई सरसफाई, नाली, सडक मर्मत लगायतका कार्यमा लगाइएकाे छ।
सोही सूचीमा सामेल छिन् पार्वती साह।
लहान नगरपालिका वडा नम्बर ६ की पार्वतीलाई लकडाउनका कारण घर व्यवहार चलाउन समस्या भयो।
श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। लकडाउनले गर्दा उनले समेत घरमा पैसा पठाउन नपाउँदा पार्वतीलाई ३ सन्तानको हातमुख जोड्न समस्या हुँदै गयो। त्यतिकैमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन भरिन्, छनौट भइन्।
उनैलाई २० जना टोलीको अध्यक्ष बनाइयो। सो टोलीले अहिले सडकमा माटो पुर्ने, नालीमा भरिएकाे माटो निकाल्ने काम गरिरहेको छ।
‘यस काममा मसहित नितान्त विपन्न घर परिवारका महिलाहरु जुटेका छौं, म बाहेक अरु सबै दलित समुदायका महिलाहरु काम गर्दै आएका छन्’ उनले भनिन्।
उनी अरुजस्तै काममा खटिन्छिन्। ‘मलाई टोलीका महिलाहरुसँगै काम गर्न कत्ति पनि लाज लाग्दैन किनभने गलत काम होइन, बरु मेहनत गरेर पैसा कमाउँदैछु’ उनले भनिन्।
यो रोजगार पाएपछि लकडाउनका कारण श्रीमानले पैसा नपठाउँदा पनि घर खर्च चलाउन आफूलाई कुनै समस्या नभएको उनले बताइन्।
उनी भन्छिन् ‘घनमिटरको हिसाबले हामीलाई ज्याला दिने कुरा भएको छ, एक घनमिटर सडकमा माटो पुर्यौं भने ४५० रुपैयाँ पाउँछौं जसमा हामी ५ देखि ६ जनासम्मको टोली बनाएर माटो पुर्ने गर्दछौं र दिनभरिमा एउटा टोलीले १० देखि १५ घनमिटर सड़कमा माटो पुर्ने गर्दछौं।’
टोलीका प्रत्येकले दिनको ६/७ सय रुपैयाँ आम्दानी गर्दै आएको उनले जानकारी दिइन्। तर काम अनुसारको ज्यालादारी भने नपाएको उनले गुनासो गरिन्।
‘काममा एकदमै मेहनत छ, नारी पुरिएको माटो निकालेर सकडमा भएका खाल्डा खुल्डी मिलाउनुपर्छ तर ज्याला भने कम छ’ उनले भनिन्।
पार्वती जस्तै उक्त विकास निर्माणको काममा रामकुमारी पासवान पनि जुटेकी छिन्। मुढा बुन्ने काम गर्दै आएकी रामकुमारीलाई लकडाउनपछि आवश्यक पुँजी अभाव हुन थाल्यो।
उनले भनिन् ‘श्रीमान् होटेलमा काम गर्नुहुन्थ्यो म मुढा बुन्ने र बेच्ने गर्दै आएकी थिएँ, तर लकडाउनपछि होटेलको काम बन्द भयो विस्तारै परिवार चलाउन समस्या हुन थाल्यो, लगत्तै रोजगारीका लागि आवेदन खुलेपछि साथीहरुसँगै मैले नि आवेदन दिएँ। नाम निस्किएपछि सातादेखि काम गर्दै आएकी छु।’
लकडाउनका बेला पनि आफूले आम्दानी गर्न लागेपछि श्रीमानले घरको काम गर्ने गरेको उनले बताइन्। उनी भन्छिन् ‘घर पुग्दा उहाँले घरको प्रायः कामहरु सक्नुभएको हुन्छ, छोराछोरीको रेखदेख समेत अहिले उहाँनै गर्नु हुन्छ, यो काम नपाएको भए घरको स्थिति सामान्य हुने थिएन।’
प्रधानमन्त्री रोजगार कार्यक्रमकी नगरकोषाध्यक्ष समेत रहेकी रामकुमारीलाई पनि पार्वतीलाई जस्तै ज्याला कम पाएकोमा असन्तुष्टि छ। ‘नाला, सड़क बनाउनुपर्छ, त्यो पनि यति चर्को घाममा तर दैनिक पारिश्रमिक भने ४ सय ५० रुपैयाँ’ उनले भनिन्।
प्रधानमन्त्री रोजगार कार्यक्रममै काम गर्दै आएकी रोशीकुमारी राम आफूले पनि काम गर्न थालेपछि घरको दैनिकी चलाउन सहज भएको महसुस गर्छिन्।
उनका श्रीमान् औषधि पसलमा काम गर्छन्। ‘लकडाउनको अवधिमा समेत आर्थिक रुपमा हामीलाई समस्या भएन, ६ जनाको परिवारमा श्रीमानले मात्रै लिँदै आएको आर्थिक भारमा सघाउन पाउँदा खुसी लागेको छ।’
वर्षौदेखि घरमै बसेर समय बिताएकोमा अहिले रोशनीलाई पछुतो लागेको छ। रोशनी भन्छिन् ‘यसअघि नै यस्तै कुनै ज्याला मजदुरी नै गरिरहेको भए घरको आर्थिक अवस्था अहिलेभन्दा धेरै राम्रो हुने थियो।’
प्रधानमन्त्री रोजगार कार्यक्रमको समयावधि लगभग १६ दिन मात्रै बाँकी रहेको छ। त्यसपछि यो परियोजना सकिए पनि घरमा बेरोजगार भएर बस्नुभन्दा यस्तै अरु कुनै काममा लाग्ने उनको सोच छ।
उनी भन्छिन् ‘असार २० गतेसम्म मात्रै हाम्रो रोजगार छ, अब घरमा बसेर समय बर्बाद गर्दिन बरु जस्तोसुकै काम पाए पनि गर्नेछु।’
रोशनीकी ६ वर्षीया एक छोरी र ३ वर्षे एक छोरा छन्। छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उनको योजना छ।
‘यदी म पनि काम गर्न थालेँ भने छोराछोरीलाई पढाउन कुनै समस्या हुन्न’ उनले भनिन्।
महिलाहरु एकदमै मेहनतका साथ काम गरिरहेको वडा नम्बर ६ का वडाध्यक्ष अरुण केसीले बताए।
उनले भने ‘३ महिना समयावधि तोकिएको काम लकडाउनका कारण हुन सकेन अब लगभग १५/१६ दिन मात्रै बाँकी छ, महिलाहरुले एकदमै मेहनतका साथ काम गरिरहनुभएको छ, घनमिटरका आधारमा उहाँहरुले दिनभरिमा सडकमा जति माटो भर्नुहुन्छ वा मिलाउनुहुन्छ त्यही आधारमा ज्याला समेत पाउनुहुन्छ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत वर्ष देशभरी झन्डै एक लाख ७६ हजार व्यक्तिले रोजगारी पाएका थिए।