योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य बढेको कोषले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ सम्म कुल रोजगारदाता सूचीकरण संख्या २० हजार ९५१ पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै योगदानकर्ताको संख्या आठ लाख ८९ हजार ९४६ थपिएको कोषले जनाएको छ।
योसँगै कुल योगदानकर्ताको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ।
जसमध्ये औपचारिकतर्फ ६ लाख एक हजार ८२५, वैदेशिक क्षेत्रतर्फ १७ लाख ७१ हजार ५३७ छ। अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक एक हजार १२४ संख्या आवद्ध भएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा थप २५ अर्ब ३६ करोड योगदान रकम संकलन सहित कूल योगदान रकम संकलन ८३ अर्ब ६५ करोड पुगेको छ।
कोषमा आवद्ध भई नियमित योगदान गरेका योगदानकर्ताहरुलाई कोषले सामाजिक सुरक्षा योजनाहरू उपयोग गरेबापत भुक्तानी गर्दै आएको छ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत एक लाख १० हजार ६९६ योगदानकर्तालाई दुई अर्ब १५ करोड रूपैयाँ भुक्तानी गरेको छ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत पाँच हजार ९३३ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजना अन्तरगत सात सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत एक लाख १२ हजार आठ सय ६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड रूपैयाँ भुक्तानी गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा थप तीन लाख ६२ हजार वटा दाबी भुक्तानी मार्फत् पाँच अर्ब ८७ करोड रकम सहित कुल सात लाख ५६ वटा दाबी भुक्तानीलाई १५ अर्ब ७५ करोड रकम भुक्तानी गरेको छ।