सिन्धुपाल्चोक स्थित ४५ मेगावाटको भोटेकोशी जलविद्यु्त आयोजनाले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई १० प्रतिशत सेयर दिने निर्णय गरेको छ।
जेनजी आन्दोलनपछि भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले जेनजी ग्रुपका नाममा १० प्रतिशत निशुल्क सेयर मागेर भदौ २५ गतेदेखि आयोजना सञ्चालन गर्न दिएको थिएन।
लामो समय आयोजना बन्द गर्नुपरेपछि मर्का परेको भन्दै आयोजनाले त्यहाँका स्थानीयलाई दिने गरी सम्झौता भएको ६ प्रतिशत सेयरमा ४ प्रतिशत थप गरी १० प्रतिशत जेनजी कम्पनीलाई दिने निर्णय गरेको जनाएको छ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विक्रम स्थापितका अनुसार आयोजनाले प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा उक्त सेयर दिने निर्णय गरेको हो। उक्त सेयर १९ करोड रूपैयाँ बराबरको रहेको उनले बताए।
आयोजनाले उक्त जेनजी पब्लिक कम्पनीलाई सेयर दिएपछि कम्पनीमा को–को सेयर होल्डर रहन्छन्? कम्पनीको सेयर कसलाई कसरी बाँडफाट हुन्छ भन्ने चासो बढेको छ।
यस विषयमा हामीले भोटेकोशी गाउँपालिकाका अध्यक्ष नुर्पु शेर्पा र उक्त जेनजी कम्पनीका प्रतिनिधिसँग कुराकानी गरेका छौं।
पालिका अध्यक्ष शेर्पाले भोटेकोशी एक महिनाभन्दा लामो समय बन्द भएका कारण जिल्लाका सिडिओ, आयोजनाका अधिकारीहरू, जनप्रतिनिधि तथा स्थानीयबीच छलफल भई १० प्रतिशत सेयर दिने टुंगो लागेको बताए।
‘२०७१ सालमा जुरे पहिरो गएपछि आयोजनाको सेयर स्थानीयले पाउनुपर्ने विवाद उठेको थियो। त्यसबेला विभिन्न राजनीतिक दल, स्थानीय र आयोजनाबीच छलफल भई स्थानीयलाई ६ प्रतिशत सेयर दिने सम्झौता भएको रहेछ। त्यो सम्झौता पनि कार्यान्वयन नभएको र त्यही ६ प्रतिशतमा ४ प्रतिशत थपेर अहिलेको जेनजी पब्लिक कम्पनीलाई १० प्रतिशत सेयर दिने सहमति भएको छ,’ उनले भने।
कम्पनीको सेयर स्थानीयलाई कसरी बाँडफाँट गर्ने भन्ने विषयमा भने टुंगो लागिनसकेको उनले बताए।
‘कम्पनी वैधानिक हो वा होइन, कति पारदर्शी हुन्छ। सञ्चालक समितिमा बसेका व्यक्ति कस्ता हुन भन्ने विषयमा स्पष्ट भइसकेको छैन। यस विषयमा हामी स्थानीय र सबै सरोकारवालासँग थप छलफल गर्छौं,’ उनले भने।
अहिले कम्पनीले पाएको सेयर गाउँका सबै व्यक्तिलाई भागबन्डा हुनुपर्ने कुरा उठिरहेको पनि उनले बताए।
जेनजी कम्पनीका प्रतिनिधि काल्देन शेर्पाले भोटेकोशी पालिकाका सबै वडाका जनतालाई प्रतिव्यक्ति बराबर भागमा आउने गरेर सेयर बाँडफाँट गरिने बताए।
‘यो पालिकामा पाँच वटा वडा छ। पाँचै वटा वडाको जनतालाई समेटेर सेयर बाँड्ने हो। तर कति कित्ता सेयर आउँछ भन्ने हिसाब नै भएको छैन। त्यो थाहा भएपछि थप कुरा टुंगो लाग्छ,’ उनले भने।
आयोजनाका अनुसार यो सेयरका लागि जेनजी कम्पनीले बैंकबाट ऋण लिनेछ। यसरी लिने ऋणको जमानीको व्यवस्था भने आयोजनाले गर्ने सहमति भएको हो।
‘हामी आफैंले ऋण लिन जाँदा कम्पनीलाई बैंकले नपत्याउन सक्छ, त्यो हुँदा ऋण व्यवस्था गरिदिन आयोजनाले नै सहजीकरण गरिदिनुपर्छ भनेर हामीले भनेका हौं,’ जेनजी प्रतिनिधि काल्देन शेर्पाले भने।
सेयर दिने सम्झौता भएपछि आयोजना सञ्चालनमा आएको छ।