दूरसञ्चार क्षेत्रमा गएको केही वर्ष अघिसम्म व्यापार उत्कर्षमा थियो। सेवाप्रदायकहरु पहुँच विस्तारमा लागिरहन्थे। अर्थात् टावर थप्ने र भ्वाइस सेवाको पहुँच बढाउने उनीहरुको रणनीति थियो।
यस्तो काम अहिले पनि जारी छ। मुख्य सेवाप्रदायक नेपाल टेलिकम र एनसेल अहिले पनि सेवा विस्तारमा लागिरहेकै छन्। तर उनीहरुले २ वर्ष अगाडि लगानी गर्दाको जस्तो लगानी प्रतिफल पाउन भने सकिरहेका छैनन्।
पहिले सेवा विस्तार हुनेबित्तिकै उपभोक्ताले भ्वाइस कल गर्थे। यसबाट कम्पनीले धेरै व्यापार गर्थे। अर्थात् उपभोक्ताले भ्वाइसकलमा धेरै खर्च गर्थे। त्यसको लाभ कम्पनीहरुले पाउँथे। यसो हुँदा उनीहरुले लगानी छिटै उठाउँथे।
तर अहिले आएर अवस्था त्यस्तो छैन। टेलिकम कम्पनीहरुको आयको मुख्य स्रोत सुक्न थालेको छ। नेपालका टेलिकम कम्पनीहरुको मुख्य आम्दानीको स्रोत भनेको भ्वाइस कल र अन्तर्राष्ट्रिय कलबाट आउने रकम थियो।
जुन पछिल्लो समय ओरालो लागेको छ।
गएको वर्षको विस्तृत विवरण नभएपनि एनसेल र नेपाल टेलिकम दुबैले आम्दानी गुमाएका छन्। यी दुबैको आम्दानीमा गिरावट आएको छ।
आम्दानीमा कमी आउनुको मुख्य कारण भ्वाइस कलको व्यापार न्यून हुनु हो।
कम्पनीहरुको भ्वाइस कल गएको तीन वर्षदेखि ओरालोतिर लागेको छ। २०७४ को तुलनामा नेपाल टेलिकमको भ्वाइस कल आम्दानी करिब ३ अर्बले घटेको थियो। गएको वर्ष पनि यो क्रम रोकिएको छैन।
त्यस्तै एनसेलको पनि सोही अवधिमा १ अर्बले आम्दानी घटेको थियो।
यसो हुनुमा कम्पनीहरुले विदेशमा हुने कलबाट पाउने आम्दानी गुमाउँदै गएका छन्। भने देशभित्रै पनि भ्वाइस कलको मात्रा कम हुँदै गएको छ। पछिल्लो समय इन्टरनेटको विस्तार भएसँगै इन्टरनेटमा आधारित एप्लिकेशनबाट धेरैजसो सञ्चार हुन थालेको छ।
व्यावासायिक प्रायोजन बाहेक सर्वसधारण उपभोक्ताले पछिल्लो समय इन्टरनेटमा आधारित एप्लीकेसनबाट सेवा लिन थालेका छन्।
भ्वाइस कल छाडेर उपभोक्ताहरु इन्टरनेटतिर गएका छन् भन्ने कुरा तथ्यांकले पनि देखाउछ। २०७४ र ०७५ को तथ्यांक हेर्दा त्यो ट्रेन्ड देखिन्छ। उक्त अवधिमा भ्वाइस कलको व्यापार गुमाएका कम्पनीले डेटा व्यापार भने आम्दानी बढाएका छन्। उक्त एक वर्षको अवधिमा नेपाल टेलिकमले खासै बढाउन नसकेपनि एनसेलले भने ३ अर्बको व्यापार बढाएको थियो।
विकल्पको खोजीमा एनसेल
विश्वभर टेलिकमको आम्दानी भ्वाइसबाट ट्रान्सफर भइसकेको छ। त्यसैले कम्पनीहरुले भ्यालु एडेड सेवा बिक्री गरिरहेका छन्। बजार डेटा उन्मुख भएपछि सोहीअनुसारको सेवा ल्याउनुपर्ने दबाबमा नेपाली कम्पनीहरुलाई पनि परेका छन्।
विदेशी लगानीको एनसेलले यसको विकल्प खोज्न सुरु गरिसकेको छ। उसले पछिल्लो समय उपभोक्ता सेवासँगै इन्टरप्राइज सेवा ल्याउने तयारी गरिरहेको छ।
उसले भेहिकल ट्रयाकिङ सिस्टमदेखि अफिस ट्रयाकसम्मका सर्भिस डिजाइन गरिरहेको छ। कम्पनीले यसअघि नै इन्टरप्राइज सेवा विभिन्न स्वरुपबाट दिइरहेको छ।
के छ नेपाल टेलिकमको तयारी?
पूर्ण स्वामित्वको सेवाप्रदायक नेपाल टेलिकम पनि सेवामा विविधता ल्याउन कस्सिएको छ।
पछिल्लो समय परम्परागत आम्दानीका स्रोत सुक्दै गएपछि वैकल्पिक सेवाको विकास र विस्तारमा लागिपरेको नेपाल टेलिकमका महाप्रबन्ध डिल्ली अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार कम्पनीको विशेषगरी पिएसटिएन(ल्यान्डलाइन) मोबाइल भ्वाइस र अन्तर्राष्ट्रिय कलमा गिरावट आएको छ। विश्वव्यापी रुपमा टेलिकम कम्पनीहरुले यस्तै क्षेत्रमा व्यापारिक लाभ गुमाइरहेका छन्।
यसरी क्षेत्रगतरुपमै गुमेको व्यापार हिस्सा पुरा गर्न भ्याल्यु एडेड सर्भिस ल्याउने कोशिस भइरहेको अधिकारीले जानकारी दिए।
उनका अनुसार कम्पनीले पिएसटिएनमा गुमेको व्यापारलाई फर्काउनका लागि सबैभन्दा पहिला अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने छ।
त्यसपछि उक्त नेटवर्कबाट आइपी टिभी (इन्टरनेट टिभी) तथा भिडिओ स्ट्रिमिङ सेवा दिने तयारी गरिरहेको छ। यसपछि पिएसटिएन सेवा लिइरहेका ग्राहकले टिभी पनि त्यहीबाट पाउने छन्। त्यसपछि भ्वाइस र टिभीको संयूक्त सेवा लिने अवसर हुने छ।
त्यस्तै मोबाइल भ्वाइसको ग्याप पुरा गर्नका लागि डेटा खपत बढाउने कम्पनीको तयारी छ। यसका लागि मोबाइलमा आधारित विभिन्न एप्लीकेशन,भिडियो तथा गेमिङ सेवा दिने तयारी कम्पनीले गरिरहेको अधिकारीले जानकारी दिए।
'उपभोक्ताको चासो इन्टरनेटमा आधारित सेवामा गएको छ। यसैलाई ध्यानमा राख्दै हामीले फोरजी देशव्यापी बनाउँदै छौ यसबाट पहिलो चरणमा डेटाको खपत तथा व्यापार बढ्ने छ। त्यस्तै हामी मोबाइल ओटिटी सेवा जस्ता अन्य भ्यालु एडेड सेवा पनि थप गर्दै जान्छौ' उनले भने।
त्यस्तै टेलिकमले मोबाइल बैंकिङ सेवाका लागि कम्पनी दर्ताको प्रक्रिया पनि अघि बढाइसकेको छ।