आइफोन १६ सार्वजनिक हुने मिति नजिकिँदै गर्दा आइफोन १७ मा हुने केही फिचिरहरू सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय टेक वेबसाइट द इन्फर्मेसनका अनुसार एप्पलले आइफोन १७ को लागि विशेष योजनाहरू बनाइरहेको छ।
कम्पनीले आइफोन १७ को बाहिरी डिजाइसँगै भित्री विशेषताहरू समेत परिवर्तन र परिमार्जन गर्ने तयारी गरिरहेको छ।
द इन्फर्मेसनमा सम्प्रेषित जानकारीअनुसार एप्पलले आइफोन १७ पातलो डिजाइनमा बनाउँदैछ। यो अल्मुनियम चेसिसको हुने बताइएको छ भने अगाडिको क्यामेरा र सेन्सरहरूको लागि सानो प्वाल र चक्की आकारको डिजाइन समावेश गर्ने बताइएको छ।
एप्पल १७ मा क्यामेराको गुणस्तरमा पनि विशेष सुधार गरिने बताइएको छ। यसमा एप्पलको ए १९ प्रसेसर हुने उल्लेख गरिएको छ। फोनको स्क्रिन ६.१ इन्चदेखि ६.७ इन्चबीच रहने अनुमान छ। यद्यपी कम्पनीले नयाँ मोडलहरूको स्क्रिन सानो राख्ने योजना बनाइरहेको जानकारीहरू केही समय अघिदेखिनै सार्वजनिक भइरहेका छन्।
त्यस्तै, एप्पल १७ को भेरियन्टहरूमा पछाडिपट्टी हुने क्यामेराहरू स्थानान्तरण गर्ने सम्भावना रहेको देखिन्छ। यसको क्यामेराहरू पछाडिको प्यानलको माथिल्लो-बायाँ कुनाबाटबीचमा स्थानान्तरण हुने अनुमान छ।
द इन्फर्मेसनका अनुसार आइफोन १७ ले नयाँ भेरियन्टहरू सार्वजनिक गर्दा आइफोन प्रो म्याक्सभन्दा माथिल्लो/उच्च श्रेणी पनि गर्ने अनुमान छ।
आइफोन १७ मा कम्पनीले केही ट्रुडेप्थ सेन्सरहरू पनि हटाउने अनुमान छ। आइफोन १७ सन् २०२६ मा सार्वजनिक हुने बताइएको छ।
आइफोन १६ भने सन् २०२४ को सेप्टेम्बरमा सार्वजनिक हुने अनुमान छ। यसको उत्पादन जुनदेखि नै सुरू हुने भन्दै विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूमा सार्वजनिक भएका छन्।
नयाँ विशेषताहरूसँगै सार्वजनिक हुने आइफोन १६ को विभिन्न भेरियन्टहरूको मूल्य तुलनात्मक रूपमा बढ्ने समेत अनुमान लगाइएको छ।