टेक जायन्ट गुगलले आफ्नो पिक्सेल स्मार्टफोनहरू भारतमा उत्पादन गर्ने भएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी बिबिसीका अनुसार गुगलले भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको फक्सकन सुविधा सम्पन्न फ्याक्ट्रीबाट उत्पादन गर्ने तयारी गरेको छ।
यससँगै गुगलले ड्रोन पनि भारतबाटै उत्पादन गर्ने तयारी गरिरहेको छ।
पछिल्लो समय पश्चिमसँगको भू-राजनीतिक तनावबीच चीनबाहिर आपूर्ति लाइनहरू विविधीकरण गर्न खोजिरहेका विश्वव्यापी फर्महरूका लागि भारत प्रमुख गन्तव्यको रूपमा विकास भइरहेको छ। अर्थात् भारतमा उत्पादन फर्महरूको उपस्थिति बढ्दै छ।
गुगलले गत वर्ष नै भारतमा आफ्नो पिक्सेल ८ उत्पादन गर्ने घोषणा गरेको थियो।
'पिक्सेल स्मार्टफोन उत्पादनको लागि भारत प्राथमिकताको बजार हो,' गत वर्ष सार्वजनिक गरेको एक ब्लगमा कम्पनीले भनेको थियो, 'हामी हाम्रा हार्डवेयर र अन्तर्निहित निर्मित सफ्टवेयर (बिल्ट-इन स्फटवेयर) क्षमता ग्राहकहरूलाई प्रदान गर्न प्रतिबद्ध छौं।'
बिबिसीका अनुसार गुगलले तमिलनाडु फ्यासिलिटीमा बनाउने फोनहरू उन्नत भर्सनका हुनेछन्। कम्पनीले सन् २०२४ मै यसको उत्पादन सुरू गर्ने जनाइएको छ।
यसको लागि गुगल र फक्सकनले पहिले नै हस्ताक्षर गरिसकेको समेत बताइएको छ। भारतमा फक्सनको तमिलनाडु र चेन्नाइमा दुई फ्यासिलिटी छन्।
चेन्नाइमा रहेको फ्यासिलिटीबाट एप्पलको आइफोनहरू एसेम्बल भइरहेका छन्।