फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयसँगै इन्टरनेटको गुणस्तर खस्कने सेवाप्रदायक कम्पनीहरूले बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार भएको बैठकले सामाजिक सञ्जाल सूचीकरणको अन्तिम समयसीमा समाप्त भएकाले यी प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो।
सरकारले विभिन्न सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सूचीकरण गर्न एक साताको समय तोकेको थियो। बुधबार राति त्यो समय सकिएपछि बिहीबारबाट नेपालभित्र प्रयोग गर्न नपाइने घोषणा गरिएको हो।
यो निर्णयले भिपिएनको प्रयोग बढ्न गई इन्टरनेटको गुणस्तरमै कमी आउने सम्भावना इन्टरनेट सेवाप्रदायकहरूले औंल्याएका छन्।
भायनेटका प्रबन्ध निर्देशक विनय बोहोराका अनुसार अहिले नेपालका इन्टरनेट सेवा प्रदायकहरूले आफ्नै देशमै सर्भर राखेका छन्।
त्यसैले फेसबुक वा युट्युब जस्ता सामाजिक सञ्जाल चलाउँदा सामग्री सिधै यहीँबाट प्राप्त हुने भएकाले थोरै मात्र इन्टरनेट क्षमतामा पनि सहज सेवा चलिरहेको थियो। तर सरकारले सामाजिक सञ्जाल बन्द गर्न डिएसएन ब्लक गर्न पर्ने हुन्छ।
डिएसएन यो इन्टरनेटको फोनबुक जस्तै हो, जसले वेबसाइटको नामलाई आइपी एडरेसमा बदलिदिन्छ। त्यसैले प्रयोगकर्ताले सजिलो नाम टाइप गर्दा इन्टरनेट प्रणालीले त्यसलाई सही सर्भरमा पुर्याउँछ।
तर अब धेरै इन्टरनेट प्रयोगकर्ताले भिपिएनमार्फत सामाजिक सञ्जाल प्रयोग गर्ने हुँदा इन्टरनेट ट्राफिक बाहिरी मुलुक हुँदै चल्नेछ। उदाहरणका लागि, सिंगापुर वा भारतमार्फत ट्राफिक आउँदा इन्टरनेट क्षमतामा अतिरिक्त दबाब पर्न सक्ने उनको भनाइ छ।
इन्टरनेट सेवाप्रदायक संघ (इस्पान) का अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट ट्राफिकलाई खानेपानीको धारासँग तुलना गर्दै भने, 'हामीले अहिले सय मिलिमिटरको पाइपमा पानी झारिरहेका छौं, भिपिएन प्रयोग भएपछि त्यही पाइपबाट धेरै पानी पठाउन खोजेजस्तो हुन्छ। हाम्रो क्षमताले नधान्न सक्छ।'
उनका अनुसार इन्टरनेट सेवाप्रदायकहरूले साधारणतया सयदेखि दुई सय एमबिपिएस क्षमतामा सेवा दिइरहेका छन्। भिपिएन प्रयोग बढेपछि त्योभन्दा बढी क्षमताको आवश्यकता पर्नसक्ने उनको विश्लेषण छ।
यसअघि टिकटक प्रतिबन्ध लगाउँदा पनि यस्तो अवस्था देखिएको थियो।
'त्यति बेला एउटा मात्र प्लेटफर्म बन्द भएको थियो। अहिले धेरै सामाजिक सञ्जाल एकैपटक बन्द हुँदा स्थिति झन् जटिल हुन्छ,' बोहोराले भने, 'यो समस्या समाधान गर्न ब्यान्डविथ क्षमता विस्तार गर्नुपर्छ। यसका लागि ठूलो लगानी चाहिन्छ। अहिले हामीसँग त्यसको सामर्थ्य छैन।'
भिपिएन प्रयोगसँगै साइबर सुरक्षा जोखिम बढ्ने चेतावनी पनि सेवाप्रदायकहरूले दिएका छन्।
अनधिकृत वा असुरक्षित भिपिएन प्रयोग गर्दा प्रयोगकर्ताहरूको बैंक खाता, कारोबार र व्यक्तिगत डेटा चोरी हुने खतरा पनि उनीहरूले औंल्याएका छन्।