'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) को प्रतिस्पर्धामा पछिल्ला केही दिनयता गुगलले एक्कासि छलाङ मारेको छ।
गत साता सार्वजनिक गुगलको च्याटबोट जेमिनाई–३ ले एआईको दौडमा अब्बल मानिएको ओपन–एआई कम्पनीको 'च्याट जिपिटी' भन्दा राम्रो प्रदर्शन गर्यो। त्यसपछि गुगल आफैले बनाएको चिप्सले एनभिडिया कम्पनीलाई समेत टक्कर दिएको समाचार आयो।
एनभिडिया एआईको प्रशिक्षणका लागि चाहिने उच्च गुणस्तरको चिप्स बनाउने कम्पनीमा अग्रणी मानिन्छ। उच्च कोटीको चिप्स बनाएकै भरमा बजार मूल्यका आधारमा एनभिडिया विश्वकै ठूलो कम्पनी बनेको थियो। तर गुगलले टक्कर दिएपछि एनभिडियाको सेयर मूल्यमा उच्च गिरावट आएको छ।
जेमिनाई र त्यसका लागि प्रयोग भएको चिप्सको सफलताका कारण गुगलको माउ कम्पनी अल्फाबेटको सेयर मूल्य भने बढेको छ।
कतिपय विश्लेषकले एनभिडियालाई पछि पारेर गुगलले चाँडै नै विश्वकै ठूलो कम्पनी बन्ने ठोकुवा गरेका छन्।
अब हामी गुगलले कसरी च्याट जिपिटी र एनभिडियालाई अप्ठ्यारो पार्ने गरी सफलता हासिल गर्यो भन्ने चर्चा गरौं।
यसका लागि हामीले गत सेप्टेम्बरमा गुगलको गैरप्रतिस्पर्धात्मक कार्यबारे अमेरिकी अदालतले गरेको फैसलाको महत्त्व बिर्सिनु हुँदैन।
एप्पलले उत्पादन गर्ने मोबाइल, ल्यापटप लगायत उपकरणमा आफूलाई डिफल्ट सर्च इन्जिन राख्न गुगलले ठूलो रकम दिने गरेको छ। त्यसले सर्च इन्जिनमा गुगलका प्रतिद्वन्द्वीहरूलाई घाटा भएको भन्दै अमेरिकी अदालतमा मुद्दा परेको थियो।
वासिङ्टनको जिल्ला अदालतका न्यायाधीश अमित मेहताले उक्त मुद्दामा गुगलले अनलाइन खोजी र विज्ञापनमा अवैध एकाधिकार कायम गरेको फैसला सुनाएका थिए। उनले गुगललाई आफ्नो क्रोम ब्राउजर बेच्न नपर्ने निर्णय गर्नुका साथै अनलाइन खोजीमा प्रतिस्पर्धा बढाउन गुगललाई आफ्ना प्रतिद्वन्द्वीहरूसँग केही डेटा बाँड्न आदेश दिएका थिए।
सँगसँगै, गुगललाई आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) कायम राख्न अनुमति पनि दिएका थिए।
यसरी आफ्नो लोकप्रिय र धेरै कमाइ हुने क्रोम ब्राउजर र एन्ड्रोइड अपरेटिङ सिस्टम बेच्न नपर्ने फैसलाले गुगललाई ठूलो राहत भयो।
उक्त फैसलापछि अल्फाबेटको बजार मूल्य १३ खर्ब डलर (करिब ५० प्रतिशत) बढेर ३९ खर्ब डलर पुगेको छ। हाल ४० खर्ब डलरभन्दा धेरै बजार मूल्य भएका कम्पनीमा एनभिडिया र एप्पल मात्रै छन्।
एनभिडिया, एप्पल, अल्फाबेट, माइक्रोसफ्ट, मेटा, टेस्ला, अमेजन लगायत सात ठूला प्रविधि कम्पनीलाई 'मेग्निफिसेन्ट ७' भनेर चिनिन्छ। सेप्टेम्बर २ को उक्त फैसलापछि अल्फाबेटको बजार भाउ बाँकी ६ कम्पनी सबैको जोडेरभन्दा दोब्बर बढेको फाइनान्सियल टाइम्सले लेखेको छ।
यो गति कायम राख्ने हो भने अल्फाबेट ५० खर्ब डलरको पहिलो कम्पनी बन्ने प्रक्षेपण हुन थालेको छ।
दशकौंदेखि संसारकै बुद्धिमान लगानीकर्ता भनेर चिनिएका वारेन बफेटको कम्पनीले यो वर्ष अल्फाबेटमा गरेको लगानी चार अर्ब डलर नाघेको भनेर भर्खरै सार्वजनिक भएको छ।
एप्पलबाहेक अरू प्रविधि कम्पनीमा उति धेरै लगानी नगरेका बफेटले समेत अल्फाबेटमा यति धेरै लगानी गरेका कारण यो कम्पनीले आगामी दिनमा अझै प्रगति गर्छ भनेर बजार विज्ञहरूले आकलन गर्न थालेका छन्।
अब हामी गुगलको जेमिनाईले कसरी च्याट जिपिटीलाई पछि पार्यो भनेर चर्चा गरौं।
सन् २०२२ को अन्त्यतिर ओपन–एआईले च्याट जिपिटी ल्याएदेखि नै एआईको दुनियाँमा यो अग्रस्थानमा रहँदै आएको छ। तर गत साता गुगलले ल्याएको जेमिनाई-३ ले च्याट जिपिटीको पछिल्लो मोडललाई समेत सोचेर गर्ने तार्किक विश्लेषण (रिजनिङ) र कोडिङ लगायत विधामा पछि पारेको भनेर प्रविधि विज्ञहरूले दाबी गरेका छन्।
जेमिनाईले च्याट जिपिटीलाई पछि पार्नुमा केही मुख्य कारण छन्।
एउटा, गुगलले सन् २०१४ मा एआई सम्बन्धी अनुसन्धानमा काम गरिरहेको बेलायती कम्पनी 'डिपमाइन्ड' किनेको थियो। जेमिनाईको सफलतामा डिपमाइन्डको उत्कृष्ट अनुसन्धानलाई धेरैले श्रेय दिएका छन्।
दोस्रो, गुगल कम्पनीको ठूलो कमाइले पनि जेमिनाईलाई सफल बनाउन योगदान दिएको छ।
गैरनाफामूलक कम्पनीका रूपमा सुरू भएको ओपन–एआई लगानीका लागि माइक्रोसफ्ट लगायत अरू कम्पनी र लगानीकर्ताहरूमा निर्भर छ। तर विश्वकै ठूला कम्पनीमध्येको गुगलले एआईमा प्रतिस्पर्धा गर्न जेमिनाईमा आफ्नै पैसाको खोलो बगाइरहेको छ।
पछिल्लो समय मेटा लगायत कम्पनीले एकदमै धेरै तलब दिएर एआई क्षेत्रका विज्ञहरू आफूकहाँ लगे पनि गुगलले आफ्ना उत्कृष्ट विज्ञहरूलाई कायम राख्न सक्यो। यहाँनेर गुगललाई आफ्नो क्रोम ब्राउजर र एन्ड्रोइड अपरेटिङ सिस्टम पनि राख्न अनुमति दिएको सेप्टेम्बर २ को फैसला महत्त्वपूर्ण छ।
तेस्रो, गुगलले विश्वका धेरै प्रयोगकर्ताले चलाउने आफ्नो क्रोम ब्राउजर, एन्ड्रोइड अपरेटिङ सिस्टम र युट्युबका भिडिओको डेटा एकलौटी रूपमा जेमिनाईको प्रशिक्षणमा प्रयोग गर्यो। यसले पनि जेमिनाईलाई सफल पार्न मद्दत गर्यो।
गुगलले जेमिनाईको प्रशिक्षणमा अरू कम्पनीले बनाएको चिप्स प्रयोग गर्नुको साटो आफैले बनाएको चिप्स प्रयोग गरेकाले पनि ऊ सफल भएको हो।
प्रतिस्पर्धीहरूजस्तो बाह्य आपूर्तिकर्ताहरूमा निर्भर नभएर गुगलले जेमिनाईका लागि सबै कुरा आफै बनाउँछ। जेमिनाईका लागि अनुसन्धान मात्र नभएर सफ्टवेयर, क्लाउड संरचना र चिप्स सबै गुगलले आफै विकास गर्छ।
गुगलले बनाएको चिप्सलाई 'टेन्सर प्रोसेसिङ युनिट्स' (टिपियू) भनिन्छ। यो एनभिडियाले बनाउने 'ग्राफिक्स प्रोसेसिङ युनिट्स' (जिपियू) भन्दा फरक मात्रै नभएर धेरै सस्तो पनि छ।
'द इकोनोमिस्ट' पत्रिकाका अनुसार एनभिडियाको उस्तै गुणस्तरका चिप्सभन्दा गुगलको चिप्स दुईदेखि १० गुणासम्म सस्तो पर्छ। ओपन–एआई लगायत प्रतिस्पर्धीले प्रयोग गर्ने एनभिडियाका चिप्सभन्दा धेरै सस्तो पर्ने भएकाले अरू कम्पनीले पनि गुगलकै चिप्स प्रयोग गर्न थालेका समाचार आएका छन्।
गत महिना मात्र एन्थ्रोपिक कम्पनीले आफ्नो च्याटबोट क्लाउडका लागि १० लाखवटा गुगलको चिप्स प्रयोग गर्न अर्बौं डलरको सम्झौता गरेको थियो।
केही दिनअघि मात्र मेटाले पनि गुगलको चिप्स किन्न छलफल गरेको समाचार आएपछि अहिलेसम्म मेटालाई चिप्स बेच्दै आएको एनभिडियाको बजार भाउ सोमबार एकै दिनमा एक खर्ब डलर घटेको थियो।
कतिपयले एनभिडियाको भन्दा गुगलको चिप्स सस्तो मात्र नभएर एआईका लागि अब्बल भएको जिकिर गरेका छन्।
एनभिडियाले बनाएको जिपियू खासमा भिडियो गेमका लागि बनाइएको हो। एआईको प्रशिक्षणमा पनि प्रयोग गर्न मिल्ने भएकाले तिनलाई एआईमा पनि प्रयोग गरियो। गुगलले भने एआईकै लागि टिपियू बनाएकाले एआई प्रशिक्षणका कतिपय प्रक्रियामा जिपियूभन्दा राम्रो काम गर्ने उनीहरूको तर्क छ।
यस्तो हो भने अरू प्रतिस्पर्धीले समेत एनभिडियाको चिप्स छाडेर गुगलकै चिप्स प्रयोग गर्न थाल्ने सम्भावना हुनेछ। त्यसो भए गुगलले एनभिडियालाई उछिनेर सबभन्दा ठूलो कम्पनी बन्नेछ।
त्यस्तै, गुगलले सबभन्दा अब्बल चिप्स जेमिनाईमा प्रयोग गरेर तुलनात्मक रूपमा केही कमसल चिप्स मात्र प्रतिस्पर्धीलाई बेच्न सक्नेछ। यसले जेमिनाई एआई दौडमा झन् अघि बढ्न सक्नेछ।
गुगलका चिप्स सस्तो र राम्रो भए पनि अरू कम्पनीले प्रयोग गर्दा समस्या आउन सक्ने कतिपयले जिकिर गरेका छन्। गुगलले जेमिनाईका लागि प्रयोग गर्ने गरी आफ्नो चिप्स बनाएको हो। एनभिडियाले भने आफू एआई दौडमा नभएकाले सबै कम्पनीले प्रयोग गर्न मिल्ने गरी चिप्स बनाउँछ।
एनभिडियाका चिप्स प्रयोग गर्न बनाइएको सफ्टवेयर कुडा सबैले चलाउन मिल्ने भए पनि गुगलका चिप्स अरू कम्पनीले चलाउँदा केही अप्ठ्यारो हुने सम्भावना रहन्छ। अहिले नै अरू कम्पनीले गुगलका चिप्स प्रयोग गर्न नथालेकाले के–कस्ता समस्या आउँछ वा आउँदैन भन्ने थाहा छैन।
त्यस्तै, ओपन–एआई वा अरू कुनै कम्पनीले जेमिनाईभन्दा अब्बल च्याटबोट चाँडै नै ल्याउन सक्ने सम्भावना पनि नकार्न सकिन्न।
तर जे जस्तो भए पनि आफैले एनभिडियाकै स्तरका चिप्स सस्तो मूल्यमा बनाएर जेमिनाईमा प्रयोग गर्ने भएकाले गुगललाई एआई दौडमा पछि पार्न अरूलाई मुस्किल हुने देखिन्छ।
***