स्थानीय बजारमा सुनको मूल्य हरेक दिन थप महँगो हुँदै नयाँ रेकर्ड बनेको छ। बिहीबार एक तोला सुनको भाउ एक लाख ६० हजार सात सय रूपैयाँ छ।
पछिल्लो ६ महिना अर्थात वैशाखयता सुन तोलामा २४ हजार रूपैयाँ बढेको छ। केही समयमै सुनको भाउ तोलाको दुई लाख पुग्ने विश्लेषण गरिएको छ।
सुनको मूल्य यसरी बढ्नुमा नेपाली बजारको भूमिका कति छ? हाम्रो राजस्व नीतिको प्रभाव कति हुन्छ? व्यवसायीहरूले लिने नाफाको प्रभाव कति पर्छ?
यी विषयमा धेरैको चासो हुन्छ।
यसका लागि नेपाल सुन कसले ल्याउँछ, कसरी ल्याइन्छ, मूल्य कसरी निर्धारण गरिन्छ भन्ने विषय बुझ्न आवश्यक छ।
यसै सम्बन्धमा हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यसँग कुराकानी गरेका छौं।
बज्राचार्यका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ।
अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे दस बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर तय गरिने गरेको बज्रचार्य बताउँछन्। अहिले नेपाल सरकारले सुनको भन्सार दर २० प्रतिशत तोकेको छ।
त्यस्तै ०.५ प्रतिशत बैंकले नाफा राख्छ (नेपालमा सुनको आयात गर्न वाणिज्य बैंकहरूले पाउँछन्। ०.५ प्रतिशत व्यवसायीले नाफा राख्ने गर्छन्।
१० लाख रूपैयाँभन्दा बढीको सुन किन्दा भने अतिरिक्त २ प्रतिशत विलासी शुल्क तिर्नु पर्ने हुन्छ। मूल्य निर्धारण गर्ने क्रममा यो शुल्कको हिसाब गरिएको हुँदैन।
नेपालमा सुनको मूल्य निर्धारण भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गर्ने गरेको छ। यसका लागि महासंघले पाँच जनाको दर निर्धारण समिति बनाएको छ।
सुनको मूल्य लगातार बढेपछि कारोबार भने कम भएको व्यवसायीहरूको अनुभव छ। लामो समयदेखि व्यवसायीहरूले बैंकबाट सुन नलिएको र बैंकमा सुन धेरै भएकाले अहिले आयात पनि नगरिएको उनीहरूको भनाइ छ। चालु वर्षको साउन र भदौमा एक अर्ब चार करोड रूपैयाँको सुन आयात भएको छ। जबकि गत वर्ष चार अर्ब १२ करोड रूपैयाँको आयात भएको थियो।
सुनको मूल्य निर्धारण, उतारचढाव, कारोबारको अवस्था, सुनका कारण अन्य बजारमा पर्ने प्रभाव लगायत विषयमा बज्राचार्यसँग गरेको कुराकानी हेर्नुहोस् भिडिओमाः