नेपाल सुनचाँदी व्यवसायी महासंघले गत कात्तिक ३ गतेदेखि सुनको नयाँ मूल्य तोकेको छैन। कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकिएको थियो।
त्यसयता सार्वजनिक बिदा परेकाले सुनको नयाँ मूल्य नतोकिएको हो। नेपालमा सार्वजनिक बिदाका दिन सुनको भाउ तोकिँदैन। त्यसैले अब आइतबार मात्र नयाँ मूल्य तोकिनेछ।
जबकि गत मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मूल्यले लगातार रेकर्ड बनाइरहँदा मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो।
'त्यो समय सार्वजनिक बिदा हुने थिएन भने भाउ तोक्दा एकै दिन सुनको मूल्य करिब १८ हजार रूपैयाँले घटेको हुने थियो,' महासंघका वरिष्ठ उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यले भने।
सोमबार अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ४,३८१ डलरसम्म रहेकामा मंगलबार ६.३ प्रतिशतले घटेको थियो।
मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको 'द फाइनान्सियल टाइम्स' ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।
केही समययता सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था र डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी गर्नुले मूल्य बढिरहेको थियो।
विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गर्नु पनि मूल्य बढ्नुको एउटा मुख्य कारण हो।
अब आइतबारको लागि मूल्य तोक्दा कतिसम्म मूल्य पुग्न सक्छ भन्ने अनुमान गर्न नसकिने बज्राचार्यले बताए। तर, सुनको मूल्य घट्न थाल्ने उनको अनुमान छ।
मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको भएपनि त्यसमा केही सुधार देखिएको थियो। बुधबार बजार बन्द हुँदा मूल्य प्रतिऔंस ४,०९७ डलर रहेकोमा बिहीबार ४०२६ डलरमा कारोबार भएको गोल्ड प्राइस डटकमले उल्लेख गरेको छ। मूल्य एक प्रतिशतभन्दा धेरैले घटेको हो।
शुक्रबार ४,०५६ डलरमा कारोबार भइरहेको हो। यस आधारमा पनि सुनको मूल्य आइतबार १५ हजारभन्दा धेरैले घट्न सक्ने अनुमान गरिएको छ।