पृथ्वी राजमार्गको मलेखु–मुग्लिन खण्डको सडक स्तरोन्नतीको काममा एक वर्षमा ५ प्रतिशतमात्रै प्रगति देखिएको छ।
नागढुंगा-मुग्लिन सडक योजनाको पश्चिम खण्डको (३९ किलोमिटर) सडक स्तरोन्नतीको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको थियो।
एक वर्षको अवधिमा १५ प्रतिशत काम सक्ने लक्ष्य राखिएकोमा ५ प्रतिशतमात्रै काम भएको योजना प्रमुख इन्जिनियर केदारप्रसाद नेपालले बताए।
यो खण्डमा अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम चलिरहेको छ। यहाँ ८ वटा पुलमध्ये ६ वटा पुलहरु निर्माणका लागि ठेक्का लागेको थियो। ती मध्ये पाँचवटाको काम चलिरहेको छ।
क्षतिपूर्तिको प्रकृया नटुंगिएका कारण हुग्दी खोलाको पुल निर्माणको काम सुरु हुन सकेको छैन। बाँकी दुईवटा पुल निर्माणको ठेक्का लाग्नै बाँकी छ।
इन्जिनियर नेपालले नाली निर्माण र मोड सुधारको कामले गति लिन थालेको दाबी गरे। विश्व बैंकको ४ अर्ब ऋण सहयोगमा सुरु भएको यो योजनाको म्याद ३६ महिनाको छ। यसको ठेक्का शर्मा–जेडआई सिजी जेभीले पाएको हो।
‘डिजाइनको डाटा भेरिफाइङमा फेरबदल आएका कारण पुनः सर्भे गर्नुपर्दा ६–७ महिना ढिलो भयो। जेठमा बल्ल यो काम सकियो। लगत्तै बर्खा सुरु भइहाल्यो,’ नेपालले भने, ‘झट्ट हेर्दा ५ प्रतिशतमात्रै काम भयो भन्ने देखियो तर एक वर्षमा निकै कम समयमात्रै फिल्डमा काम गर्न पाएकाले यस्तो भएको हो।’ उनले निर्माण व्यवसायीले अघिल्लो वर्ष गर्नुपर्ने प्रगतिको दस प्रतिशत आगामी दिनमा पूर्ति गर्ने प्रतिबद्धता जनाएको बताए।
‘हामीले मासिक बैठकमा प्रगति माग्ने, निर्देशन दिने काम गरिरहेका छौं। अतिरिक्त स्रोत साधनको प्रयोग गरेर काम छिटो गर्नु भनेका छौं,’ उनले भने। यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा डेडिकेटेड २ लेनको सडक बनाइँदैछ। हाल यो सडकको चौडाई ७ मिटर छ। अब सडक कम्तीमा ९ मिटर चौडाइको बन्ने इन्जिनियर कृष्ण आचार्यले बताए।
उनकाअनुसार बाक्लो बस्ती भएका चार ठाउँमा सडक चार लेनको बन्नेछ। विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर ७.१५ किलोमिटर सडक चार लेनको बन्ने उनले बताए। उकालोमा सडक ३ लेनको बनाइने छ। ३ लेनको बन्ने उकालो सडक ३ किलोमिटर नै छ। ४ र ३ लेनका सडक यसैवर्ष निर्माण गरिसक्ने लक्ष्य नागढुंगा मुग्लिन सडक योजना कार्यालयले राखेको छ।
सडकको स्तरोन्नतीका लागि रुख काट्न वन विभागको कोषमा पैसा पठाउन लागिएको योजना प्रमुख नेपालले बताए। रुख काटेबापत सडक योजनाले वन विभागलाई १३ लाख ४५ हजार रुपैयाँ बुझाउँदैछ। विद्युत् प्रधिकरणसँगको प्रकृया सकिएर पोल सार्ने काम सुरु भएको उनले बताए।
नारायणगढ–बुटवल, मुग्लिन–पोखरा सडकको निर्माणकार्य सुस्त गतिमा अघि बढिरहँदा राजधानी काठमाडौं जाने मुख्य मार्ग नागढुंगा–मुग्लिन सडकको कमजोर प्रगतिले यात्रालाई कष्टकर बनाउने देखिन्छ। यो विषयमा जिज्ञासा राख्दा योजना प्रमुख नेपाल भन्छन्, ‘सुरुआतमा काम केही ढिला भयो तर यो योजना आगामी दिनमा द्रुत गतिमा अघि बढ्छ। यो वर्ष राम्रो प्रगति देखिन्छ।’