सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल काम सकिएको छ।
अहिले सिभिल साइटतर्फ परीक्षण भइरहेको आयोजनाका प्राविधिक प्रवन्धक विजयलाल श्रेष्ठले जानकारी दिए।
'पानी चुहिन्छ कि चुहिँदैन भनेर परीक्षण भइरहेको छ। कतैबाट पानी चुहिएन भने अरू काम अघि बढ्छ। केही समस्या देखियो भने सुधारको काम हुन्छ,' उनले सेतोपाटीसँग भने।
श्रेष्ठका अनुसार सिभिलतर्फको काम सकेपछि इलेक्ट्रिोमेकानिकल तर्फ परीक्षण गरिन्छ। सबै ठीक भए विद्युत उत्पादन हुन थाल्छ।
यो आयोजनाबाट मिड फेब्रुअरी (फागुन पहिलो सातादेखि) उत्पादन थालिने गरी काम भइरहेको उनले जानकारी दिए।
उनका अनुसार यो आयोजनाबाट उत्पादन भएको बिजुली प्रसारणलाइनसम्म पुर्याउन समस्या देखिएको छ। यो आयोजनाका लागि कुल १३ वटा टावरमध्ये ७ वटा टावरमा तार टाग्ने विषयमा कुरा नमिलेको उनले जानकारी दिए।
'जग्गा किनेर हामीले सबै टावर राखिसकेका छौं। ६ वटा टावरमा तार जोड्न तार मुनी पर्ने सबै जग्गाको पैसा हामीलाई चाहिन्छ भनेर स्थानीयले अवरोध गरेपछि काम हुन सकेको छैन,' उनले भने, 'यस्तो राइट अफ वेको क्षतिपूर्ति बापत १० प्रतिशत मात्रै दिँदै आएकोमा हामीले २० प्रतिशत दिँदा पनि स्थानीयले मान्नु भएको छैन।'
आयोजनाले पूरै जग्गाको पैसा तिर्ने अवस्था नरहेको उनले बताए।
'सबैतिर यस्तै हो भने त आयोजना बनाउनै सकिँदैन। हामीले तारको राइट अफ वेको जग्गाको पूरै पैसा तिर्ने हो भने अरू आयोजना बनाउँदा पनि सबै पैसा तिरेर कसरी बनाउन सकिन्छ?,' उनले प्रश्न गरे।
उनका अनुसार बाह्रबिसे बजार नजिकैको स्थानमा ६ वटा टावर राख्ने करिब चार किलोमिटरमा यस्तो समस्या देखिएको हो।
यसबारे सम्बन्धित सरोकारवालासँग पटक–पटक छलफल गरिएको उनले बताए।
'स्थानीयहरूसँग धेरै आग्रह गरियो। समस्या समाधानका लागि प्रधानमन्त्रीसम्म पनि छलफल भयो। तर ६, ७ महिनासम्म पनि विवाद सुल्झिएको छैन। अझै छलफल गर्छौं। उहाँहरूले बुझ्नुहुन्छ कि,' उनले भने।
यहाँबाट उत्पादित बिजुली बाह्रबिसे प्रसारण लाइनमा जोड्ने योजना छ। तामाकोशी काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सकिएको छैन।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भइरहेको मध्य भोटेकोशी जलविद्युत आयोजनाको बिजुली खेर जाने अवस्था आउन लागेकाले नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण छिटोभन्दा छिटो सक्न विद्युत प्राधिकरणले ताकेता गरिरहेको छ। नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमता वृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभिए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य भइरहेको उल्लेख गरिएको छ।
यो सबस्टेशनबाट लप्सीफेदी हुँदै बिजुली प्रसारण हुनेगर्छ। लप्सीफेदीमा विवाद कायमै भएका कारण पनि समस्या देखिने अधिकारीहरूले बताएका छन्।
'तत्कालै बाह्रबिसे सबस्टेशनमा बिजुली जोड्न नसकिए पनि हामीले विकल्पमा १३२ केभी डबल सर्किट लामोसाँघु सबस्टेसन हेरेका छौं,' प्राविधिक प्रवन्धक श्रेष्ठले भने, 'तर यो सबस्टेसनले वर्खाको समयमा धान्दैन।'
सुख्खा सिजनमा मात्रै उक्त प्रसारणलाइनले धान्ने हुँदा वर्खासम्ममा अर्को व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
'सुख्खा सिजनमा त्यो प्रसारण लाइनले धान्छ। दुई चार महिनासम्म पनि अरू प्रसारण लाइनको समस्या सुल्झिएन भने बिजुली खेर जान्छ। यो आयोजनालाई समस्या पर्छ,' उनले भने।
२०७० सालमा सुरू भएको यो आयोजना सन् २०७४ सालमा सक्ने लक्ष्य थियो। तर २०७१ सालमा आएको जुरे पहिरो, २०७२ को भुइँचालो र भारतीय नाकाबन्दी, २०७३ को भोटेकोशी बाढी लगायत कारण आयोजनाको म्याद थपियो। निर्धारित कार्यतालिका अनुसार आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेन।
कोरोनाका कारण पनि आयोजनालाई निकै असर पुगेको उल्लेख गरिएको छ। २०७७ असारमा निर्माणस्थल वरपर भोटेकोशी एवम् आसपासका क्षेत्रमा आएको बाढी–पहिरो जस्ता कारणले पनि ढिलाइ भएको आयोजनाले बताएको छ।
उक्त ढिलाइका असरहरूको मूल्यांकन गरी आयोजनाका मुख्य ठेकदार कम्पनीहरू र परामर्शदाताको संयुक्त प्रयासमा आयोजनाले गति लिएको बताइएको छ। पछिल्लो समय कामले अपेक्षित गति लिएको आयोजनाको दाबी छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो। यो आयोजनाको मुख्य कार्यालय भोटोकोशी गाउँपालिका–५ चाकुमा छ। बाँध क्षेत्र भोटेकोशी गाउँपालिकामा छ भने पावरहाउस बाह्रबिसे नगरपालिकामा पर्छ। यो आयोजनाको कुल लगानी करिब १५ अर्ब अनुमान छ।
यस आयोजनामा पुँजी लगानीका लागि कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भइसकेको छ।
कम्पनीको सेयर संरचनाअनुसार चिलिमे हाइड्रोपावर कम्पनीको ३७ प्रतिशत, विद्युत प्राधिकरणको १० प्रतिशत र अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु भोटेकोशी हाइड्रोपावरको १–१ प्रतिशत सेयर लगानी छ। आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गरेको छ।
यो आयोजनाको संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३.५ प्रतिशत, कर्मचारी सञ्चय कोषका योगदानकर्तालाई १९.५ प्रतिशत, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर बाँडफाँट गरिएको छ।