तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रु (छिचोलेको) भएको छ।
मुख्य सुरूङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कंक्रिट लाइननिङ कार्य भइरहेको छ ।
उक्त कार्यका लागि पेनस्टक पाइप जडान कार्य अन्तिम चरणमा पुगेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए।
आयोजनाको सुरूङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ।
विद्युतगृहका सिभिल संरचना निर्माणकार्य पनि अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ। स्वीजयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरण जडानलगायतका कार्य भइरहेका छन्। टेलरेस निर्माण सम्पन्न भएको छ।
यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ। प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ।
सञ्चारविज्ञ गौतमका अनुसार ३४.७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ।
उक्त प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्यले गति लिइरहेको छ।
मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ।
समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको आयोजनाका म्यानेजिङ डाइरेक्टर किरणकुमार श्रेष्ठले बताए।
'उनका अनुसार ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गर्न लागिएको छ। प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ,' उनले भने, 'क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ।'
मुख्य बाँध निर्माण छिट्टै सुरू गर्न लागिएको छ। प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ।
प्याकेज–१ को निर्माण सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।
यसका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर ब्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।