अहिले प्रि–मनसुनको समय छ। हिउँदयाम सुख्खा भए पनि प्रि–मनसुनमा मज्जाले पानी परिरहेको छ। पहाडमा मकै, सिमी लगायत बालीनाली लगाउने बेला भएकाले यसले फाइदा नै पुर्याएको छ। डढेलो र प्रदूषणबाट राहत दिएको छ।
नत्र के हालत हुन्थ्यो, चैतको अन्तिम साताले त्यसको संकेत गरिसकेको छ। काठमाडौं लगायत देशभरको सहरी क्षेत्रमा वायुको अवस्था हानिकारक तहमा पुगेको थियो। डढेलो ४५ जिल्लामा फैलिइसकेको थियो।
प्रि–मनसुनमा औसतभन्दा बढी परेको पानीले आउँदो बर्खाको संकेत गरेको छ। प्रि–मनसुन याममा परेको पानीले बिपी राजमार्गको दुरावस्था दर्शायो। निर्माणाधीन सूर्यविनायक–धुलिखेल सडकको साँगा भञ्ज्याङ खण्डमा यातायात अवरूद्ध नै हुनपुग्यो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्नेको हिलो त सवारी साधनले छिचोल्नै सकेनन्। प्रि–मनसुन याममा देखिएको यो दृश्यले आउँदो बर्खायामको संकेत गरेका छन्।
यी सडक खण्डहरूमा विस्तार र निर्माणको क्रम चलिरहेकाले आउँदो बर्खासम्म सकिँदैनन्। र, दुःख दिने निश्चितजस्तै छ।
अझ डरलाग्दो त मुग्लिन–नागढुंगाअन्तर्गत पर्ने बहुचर्चित पहिरो कृष्णभिरले बल्झनले संकेत गरेको छ।
२०५७ साल साउन २७ गते कृष्णभिरमा पहिरो खस्दा ११ दिन सवारी साधन रोकिएको थियो। पछि जियो टेक र बायो इन्जिनियरिङको विधिबाट पहिरो रोकथाम भए पनि गत असोज १० देखि १३ गतेसम्म परेको पानीका कारण त्रिशूली नदीको बहावले तल्लो भाग कटान गरेको थियो। त्यसकारण करिब ३० मिटर सडक नै भासिएको थियो। त्यतिबेला सडक एकतर्फी भएको थियो।
अहिले पनि सडकको तलको भाग बनाइएको छैन। सडकभन्दा माथिको भागसमेत पहिरो जान थालेको प्रष्टै देख्न सकिन्छ।