सल्यानको श्रीनगरमा आधुनिक बसपार्क निर्माणको काम पूरा भएको छ।
शारदा नगरपालिका–१, श्रीनगर बजारमा साढे पाँच करोड रुपैयाँ लागतमा बसपार्क निर्माण गरिएको हो।
यही भदौ मसान्तसम्ममा बसपार्क उद्घाटन गर्ने तयारी भइरहेको छ।
शारदा नगरपालिकाका इन्जिनियर खगेन्द्र मल्लका अनुसार पाँच करोड ६० लाख ६६ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माण भएको हो।
बसपार्कभित्र ठूला तथा मध्यम सवारी साधानका लागि ३२ वटा स्टल छन्। यसै गरी ५० वटा मोटरसाइकल राख्न मिल्ने स्टल छन्।
बसपार्क परिसरमा ३४ वटा व्यावसायिक सटर छन्। मध्यम तथा साना किसिमका व्यवसाय चलाउन थप ३५ कोठा छन्।
टिकट काउन्टरका लागि अलग्गै भवन छ। त्यसमा एउटा बहुउद्देश्यीय सभाहल र एउटा स्टोर कक्ष पनि बनाइएका छन्। दुई वटा आधुनिक शौचालय छन्।
बसपार्क प्रवेशद्वारमा वीरताको प्रतीक मानिने क्रसखुकुरी रहेको स्तम्भ निर्माण गरिएको छ।
श्रीनगर बसपार्कबाट सिधा माथि पहाडमा प्रख्यात शक्तिपीठ तथा पर्यटकीयस्थल ‘खैरावाङ देवी भगवती’ मन्दिर रहेकाले बसपार्कभित्रै खैराबाङ मन्दिरको प्रतिकात्मक मूर्ति पनि राखिएको छ। सल्यानमा अत्यधिक उत्पादन हुने अदुवाको आकृति पनि बनाइएको छ।
बसपार्क कुल ९ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। पूरै बसपार्क पर्खालले घेरिएको छ। पर्खालमाथि फलामे बार लगाइएको छ।
नगरका इन्जिनियर मल्लका अनुसार श्रीनगरमा बनेको यति आधुनिक बसपार्क कर्णाली प्रदेशमै पहिलो हो।
मेयर प्रकाश भण्डारीले आफ्नो कार्यकालको एउटा महत्त्वाकांक्षी योजनाका रूपमा बसपार्क निर्माणको काम सुरू गरेका थिए।
बसपार्क निर्माणका लागि संघीय सरकारले र कर्णाली प्रदेश सरकारले बजेटको ठूलो हिस्सा सहयोग गरेका थिए।
नगरपालिकाले आर्थिक २०८०/८१ र २०८१/८२ मा बजेट छुट्ट्याएको थियो।
बसपार्क तयार भएपछि सामाजिक सञ्जालमा मेयर भण्डारीको प्रशंसा भएको छ। उनको प्रशंसामा श्रीनगरका उद्योगी–व्यवसायी र यातायात व्यवसायी अगाडि रहेका छन्।
बसपार्क चालु भएपछि श्रीनगरका साथै समग्र सल्यानको आर्थिक गतिविधि वृद्धि हुने, यातायात सेवा प्रभावकारी हुने र रोजगारी बढ्ने अपेक्षा व्यवसायी तथा स्थानीयवासीको रहेको छ।
‘गतिशील योजनासहित दिगो पूर्वाधारका रूपमा आधुनिक बसपार्क निर्माण गरिएको हो,’ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ११ का वडाध्यक्ष राजेशकुमार शर्माले भने, ‘यो बसपार्कबाट श्रीनगरको आर्थिक, सामाजिक र व्यावसायिक पक्षमा सुधार हुनेछ। नगरका लागि स्थायी प्रकृतिको आयस्रोत पनि हुनेछ।’
बसपार्क चालु भएपछि नगरको पार्किङ व्यवस्थित हुने पनि उनले बताए।
बसपार्क निर्माण गर्न एक दर्जन जति पक्की घर र ८५ टहरा भत्काइएका थिए। ती घरटहरा सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका थिए।
ती घरटहरा भत्काउँदा मेयर भण्डारीको चर्को आलोचना भएको थियो तर उनी आफ्नो अठोटबाट पछि हटेनन्।
निर्माण पूरा भएपछि उनै मेयर प्रशंसाका पात्र भएका छन्। बसपार्क सञ्चालनका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको छ।
तस्बिरहरू:
-ink-1756183418.jpeg)
-ink-1756183417.jpeg)
-ink-1756183417.jpeg)
-ink-1756183416.jpeg)
-ink-1756183416.jpeg)
-ink-1756183416.jpeg)
-ink-1756183416.jpeg)