म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी पुरिन थालेका हुन् ।
खानीबाट धातु निकालिने धाउ पुरिएका छन् । छन्त्याल जातिले पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गर्दथे । छन्त्याल जातिमा धातु भएको ठाउँ सुँघेर पनि थाहा पाउन सक्ने क्षमता भएको ताकमका चन्द्रबहादुर छन्त्यालले बताए।
खानी उत्खनन गर्ने यन्त्र उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तीन दशकयता म्याग्दीका खानी बन्द भएका नेपाल छन्त्याल संघ, म्याग्दीका भूतपूर्व अध्यक्ष मकुन्द छन्त्यालले बताए ।
जंगलको बीचमा पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुंगा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेकामा छन्त्याल समुदाय चिन्तित भएका छन् । खानी खनेर जीविकोपार्जन गर्दै आएका म्याग्दी जिल्लाको विभिन्न ठाउँमा बसोवास गर्ने छन्त्याल समुदाय परम्परागत पेशाबाट विस्थापित भएका छन् ।
गुर्जा, ताकम, कुइनेमंगल, मल्कबाङ र भकिम्लीमा बसोबास गर्ने छन्त्याल समुदाय खानी उत्खनन गर्ने परम्परागत पेशाबाट पूर्णरुपमा विस्थापित भएका छन् ।
गत वर्षको जिल्ला परिषद्ले खानीको संरक्षण र उपभोग गर्न पहल गर्ने निर्णय गरे पनि यस विषयमा कुनै पहल हुन सकेको छैन । स्थानीयवासीको लगानीमा धातु उत्खनन गर्दा आयातीतसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सञ्चालन गर्न सके जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने छन्त्याल समुदायका अगुवा बताउँछन् ।