दाङमा वैकल्पिक विमानस्थल बनाउने सरकारी निर्णय विरुद्ध विरोधका स्वरहरू चर्किदै गएको छ। स्थानीय किसानले आफ्नो सयौं बिगाहा खेतीयोग्य जमिन मासेर विमानस्थल बनाउन नदिने भन्दै आन्दोलनमा उत्रिएका छन्।
शनिबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रमा बसेको स्थानीय किसानको भेलाले आफूहरूसँग छलफल तथा सरसल्लाह नगरी निर्माण गर्न खोजेको वैकल्पिक विमानस्थल स्थापना गर्न नदिने भन्दै आन्दोलनमा उत्रने निर्णय गरेका छन् ।
‘खेतीयोग्य जमिन मासेर विमानस्थल बनाउन दिँदैनौं,’ संघर्ष समितिका संयोजक जयबहादुर बुढाले भने। यहाँ वैकल्पिक विमानस्थल निर्माण गर्ने सरकारी निर्णयका विरुद्ध जयबहादुर बुढाको संयोजकत्वमा विरोधमा समिति गठित गरी स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।
‘१५ मौजाका जनताको खेतबारी मासेर, हामीलाई विस्थापित गर्ने गरी विमानस्थल निर्माण गर्न खोजे त्यसका विरुद्ध जस्तोसुकै आन्दोलन गर्न पछि पर्ने छैनौं।’ संयोजक बुढाले सेतोपाटीलाई भने।
उनले तुलसीपुरमा कालोपत्रे विमानस्थल रहेको हुँदा त्यही विमानस्थलको धावनमार्ग विस्तार गरेर टरिगाउँ एयरपोर्टमा नियमित विमान सञ्चालन गर्नुपर्ने बताए।
‘एउटै जिल्लामा र त्यो पनि १२/१५ किलोमिटरको दूरीमा दुइटा विमानस्थल किन चाहियो?’ संघर्ष समितिका संयोजक बुढाले प्रश्न गरे।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दाङको घोराही क्षेत्रमा वैकल्पिक विमानस्थल निर्माण गर्ने कुरा उल्लेख गरेका थिए । त्यसका लागि प्रक्रिया तत्काल अगाडि बढाउने अर्थमन्त्रीको घोषणा लगत्तै स्थानीयबासी आन्दोलित बनेका हुन् ।
त्यसको विरोधमा शनिबार नारायणपुर क्षेत्रमा भएको विरोध कार्यक्रमका प्रमुख अतिथि पुरनबहादुर केसीले विमानस्थलको सट्टा सरकारले स्थानीय किसानको खेतबारीसम्म सिँचाइ सुविधा पुर्याउन ध्यान दिनुपर्ने बताए।
‘हाम्रो उर्वर भूमि मासेर विमानस्थल निर्माण गर्न भन्दा सरकारले त्यो खेतबारीमा बाह्रैमास पानी लाग्ने कुलो ल्याइदियोस्,’ प्रमुख केसीले भने ।
उनले स्थानीय गुज्र्रे र सेवार खोलाहरूमा हाइड्याम निर्माण गरेर किसानको खेतमा पानी पुर्याउन सोच बनाउन सरकारलाई आग्रह गरे । त्यस्तै केसीले सरकारले स्थानीयस्तमा स्तरीय सडक सञ्जाल, कृषि क्याम्पस तथा विद्यालय र अस्पताल बनाउनतर्फ ध्यान दिनुपर्ने बताए।
सयौं किसानको हजारौं बिगाहा उर्वर भूमि मासेर विमानस्थल बनाउने सरकारी निर्णय सही नभएको भन्दै त्यसका विरुद्ध सबै किसान एक भएर उभिन केसीले आह्वान गरेका थिए ।
संघर्ष समितिका सचिव धर्मा सेजुवालले आजकल आफुहरू जस्ता किसान खेतीमा व्यस्त रहेको हुँदा आएर त्यो स्थान विमानस्थल निर्माणको लागि उपयुक्त हो कि, खेतीपातीको लागि कृषि व्लक बनाउन उपयुक्त हो ? भन्ने जान्नका लागि विज्ञ टोली पठाउन सरकारलाई आग्रह गरेका छन् ।
‘अझैं वैकल्पिक विमानस्थल निर्माणबारे डिपिआर भएको छैन, त्यसपूर्व नै विज्ञ टोली खटाएर अनुगमन गरिनुपर्छ, ’ सेजुवालले भने । आफूहरू खेतीपातीमा व्यस्त रहेको समयमा झुक्याएर डिपिआर लगायत विमान निर्माणको प्रक्रिया अगाडि बढाए आफूहरूलाई त्यो कदापी स्वीकार्य नहुने उनले चेतावनी दिए। विरोध सभामा वैकल्पिक विमानस्थल निर्माण भएका घोराहीका वडा नं. १०, ११ र १२ का १५ वटै टोलविका संस्थाका पदाधिकारीको सहभागिता थियो।
यो पनि हेर्नुहोस् :
'हामीलाई विमानस्थल हैन खेतसम्म पानी लैजाने कुलो चाहिएको छ'