नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले पर्यटक ल्याउनका लागि सबैभन्दा पहिला सेवा राम्रो दिनुपर्ने बताएका छन्। अनलाइन एग्रिगेटर सम्बन्धी काम गर्ने एक्सेलट्रिपको उद्घाटन गर्दै नेपालले उत्कृष्ट सत्कार दिन सके पिच बाटो नचाहिने बताएका हुन्।
संसारकै उत्कृष्ट सेवा दिनसक्ने हो भने पर्यटकहरुको नेपालमा घुँइचो लाग्ने उनको भनाइ छ।
'हामीले सेवा राम्रो दिन सक्यौ भने पर्यटकहरु आफै लाम लाग्छन्। यसका लागि सबैले देशको राम्रो कुरामात्र हाइलाइट गर्नुपर्यो। हामीले सेवा राम्रो दिएनौ भने बाटो पिच भएर मात्र पर्यटक आउने होइनन्' उनले भने।
सेवा दिने र नेपालको प्रबर्द्धन गर्नेभन्दा नेपालको बद्नाम गर्नेतिर सबैको ध्याउन्न भएकाले संसारकै लाभदायक क्षेत्र भएर पनि नेपालले लाभ उठाउन नसकेको उनको भनाइ छ।
'भुँइचालो गयो नेपालमा। त्यसलाई कतिले डलर कमाउने माध्यम बनाउन खोजे। भत्किएको घर देखाएर नेपाल तन्नम भयो भनेर देखाउन खोजे। अझ त्यसलाई सनसनी बनाएर दयाको भावना जागृत गराउनतिर लागे। यसो गर्दा पर्यटक आउँदैनन् दानमात्र आउछ। पर्यटक ल्याउनका लागि प्रत्येक नेपालीले राम्रो व्यवाहर गर्नुपर्छ र देशको माया गर्नुपर्छ' उनले भने।