चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा मूल्य औसतमा ६.२७ प्रतिशत बढेको छ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा नेपालमा मूल्यवृद्धि बढेको हो।
यस्तै, पछिल्लो एक वर्षमा नेपालमा मूल्यवुद्धि ५.७६ प्रतिशतले बढेको छ।
गत वर्षको सोही अवधिमा मुद्रास्फीति ४.१५ प्रतिशत थियो।
यो सरकारी लक्ष्यभन्दा बढी हो। सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो।
यस अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य सबैभन्दा बढी ७.९६ प्रतिशतले बढेको देखिएको छ। बैंककाअनुसार पछिल्लो चार महिनामा तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ।
यस्तै, गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत रहेको छ। यस समूहअन्तर्गत घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको देखिएको छ।
क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्य बढेको छ। काठमाडौंमा मात्रै ६.८० प्रतिशतले मूल्यवृद्धि भएको हो। यस्तै, तराइमा ६.०४, हिमालमा ४.०१ प्रतिशतले मूल्य बढेको छ। पहाडको मूल्यवृद्धि ४.५६ प्रतिशत छ।
असोजसम्ममा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको तथ्याङमा उल्लेख छ।
वृहत आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २५.२० प्रतिशत, १.२१ प्रतिशत र २.२१ प्रतिशत छ।
बैंकको तथ्याङकअनुसार निर्माण सामाग्रीको थोक मूल्य भने ३.१९ प्रतिशतले घटेको छ।