अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताएका छन्।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री डा खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार संस्था भएको बताएका हुन्।
‘सहकारी संस्थाहरुको केन्द्रीय बैंकका रुपमा सहकारी बैंकले काम गर्नुपर्छ, अर्थमन्त्री डा. खतिवडाले भने ‘यसका असिमित क्षेत्र भए पनि कानुनी सीमा पनि रहेको कुरा स्मरण गर्नुपर्छ।’
सहकारी बैंकले सीमित बैंकिङ कारोबार मात्रै गर्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी ऐनअनुसार सहकारी संस्थाहरुले के गर्न खोजे पनि विभिन्न ऐनहरुले बाटो बन्द गरिदिने बताए।
‘शिक्षामा जान चाहान्छ शिक्षा ऐनले रोक्छ, स्वास्थ्यमा जान चाहान्छ स्वास्थ्य ऐनले रोक्छ वीमा जान चाहान्छ वीमा ऐनले रोक्छ’ उनले भने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयकका रुपमा ती ३५ वटा ऐनको तगारो हटाउने अन्तिम चरणमा पुगेका छौं, अब केही सहज हुन्छ।’
सहकारी बैंकले बिहीबारबाट एटिएम सेवाको पनि सुरुवात गरेको छ। कृषि विकास बैंकसँगको सहकार्यमा एटिएम सेवा संचालन गरिएको हो।