नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीविना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन्।
पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने ‘नेपालका तीनओटै तहका सरकारले निजी क्षेत्रसँगको सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी नगर्दासम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुन गाह्रो पर्छ।’
नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै उनले देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा भएको बताए।
उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेकाप्रति सकारात्मक हुनुपर्ने दाबी गरे।
तर पनि नयाँ संरचनासँगै निजी क्षेत्रसँग काम गर्ने सरकारी संयन्त्रको मानसिकता भने पुरानो भएकोले राजीतिक संरचनामा परिवर्तनसँगै काम गर्ने पुरानो ‘माइन्ड सेट’ मा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए।
‘यसकारण निजी क्षेत्रका उद्यमीहरुलाई सोचेबमोजिम उत्साहित बनाउन सकिरहेको छैन, त्यसैले यो मानसिकतामा परिवर्तन ल्याउनु जरुरी छ’, उनले भने।
उनले यस्ता मेला महोत्सवहरुमा स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिने र स्थानीयस्तरमा रहेका प्रतिभालाई प्रस्फुटन हुने अवसर दिनुपर्ने सुझाव पनि दिए।
उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा कानून निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिए यसको सही कायान्वयनका लागि सहयोग पुग्ने समेत बताए।