पछिल्लो समय नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दै गएको छ।
चालू आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि मङ्सिरसम्ममा २६ अर्ब ८३ करोडको विदेशी लगानी प्रतिबद्धता आएको छ।
विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत् १ सय ३९ वटा उद्योगका लागि सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन्।
गत आव २०७५/०७६ को सोही अवधिको तुलनामा यो १ सय ८३ प्रतिशतले बढी हो। २।८ गुणाले वैदेशिक लगानी बढेको छ।
गत आवको साउनदेखि मङ्सिरसम्ममा ९ अर्ब ४८ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।
विभिन्न देशका लगानीकर्ताले १ सय ७३ वटा उद्योग सञ्चालनका लागि सो बराबरको लगानी प्रतिबद्धता जनाएका हुन्।
नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानी बढ्न थालेको विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए।
‘अहिले हामीले लगानीकर्तालाई सहज होस् भनेर विभिन्न ऐन संशोधन गरिसकेका छौँ, यसले पनि विदेशी लगानीकर्ता आकर्षण भएका छन्’, उनले भने।
चालू आवको ५ महिनामा विभागमा दर्ता भएका १ सय २९ उद्योगमध्ये सबैभन्दा बढी लगानीको आकर्षण क्षेत्र पर्यटन बनेको छ। कुल उद्योग दर्तामध्ये ५२ वटा पर्यटन क्षेत्रका उद्योग दर्ता भएका छन्।
विगतका वर्षहरूमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिन्थ्यो। अहिले लगानीकर्ताहरू उत्पादनमूलक क्षेत्रलाई छोडेर पर्यटन क्षेत्रमा लगानी गर्न आकर्षित भएका छन्।
त्यस्तै कृषि तथा वनजन्यमा ३, सूचना प्रविधिमा २४, उत्पादनमूलकमा १७, ऊर्जा क्षेत्रमा ५ र सेवामूलकमा ३८ वटा उद्योग दर्ता भएका छन्।
यसको कुल पूजिँ भने ३९ अर्ब ७७ करोड रहेको छ।