चालु आवको लागि सरकारले वार्षिक औसत मूल्य वृद्धि ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखेको भएपनि गत चैतमा मूल्य वृद्धिले यो सीमा नाघेको छ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार वार्षिक मूल्य वृद्धि ७.२५ पुगेको छ। चैतसम्मको औसत वार्षिक मूल्य वृद्धि भने ५.६२ प्रतिशत छ।
गत चैतको तुलनामा २०७८ चैतमा खाद्य तथा पेय पदार्थ समूह र गैर-खाद्य दुवै वस्तुमा ७ प्रतिशतभन्दा धेरैले महंगी बढेको छ।
घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थमा उच्च दरले मूल्य बढेको हो। यिनीहरूमा क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशतको वृद्धि छ। साथै, यातायातमा २०.१६ प्रतिशत र शिक्षामा ८.७९ प्रतिशतले मूल्य बढेको छ।
काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईंमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशतले महंगी बढेको छ।
युक्रेन र रसियाबीच चलिरहेको द्वन्द्वका कारण पेट्रोलियम, खाने तेल लगायतका वस्तुहरूको मूल्य बढिरहेको छ। ढुवानीमा प्रयोग हुने पेट्रोलियम पद्धार्थमा भएको महंगीले आपूर्ति श्रृखंलामा समेत प्रभाव पारेको छ। यही कारण महंगी बढ्दै गइरहेको हो।
अर्कोतर्फ राष्ट्र बैंकले केही समयअघिसम्म पुनरकर्जाको लागि नोट नै छापेर बाड्ने नीति लिएका कारण पनि मुद्रा प्रवाह (बजारमा भौतिक पैसा पठाउने काम) बढेको छ। यसले पनि मुद्राको भाउ सस्तिने र सामानको भाउ महंगिने हुन्छ। गत असारसम्म बजारमा ५ खर्ब ७१ अर्बसम्म मुद्रा प्रवाह भएको थियो। हाल भने यसमा केही कमि आइरहेको छ। चैतमा बजार र बैंकिङ प्रणालीमा ५ खर्ब २६ अर्ब रूपैयाँ मुद्रा प्रवाह भएको छ।