भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिबाट व्यवसायिक उडान सुरू हुने भएको छ। नेपाल वायु सेवा निगमको न्यारोवडी विमानले काठमाडौंबाट पहिलो व्यवसायिक उडान गर्ने भएको हो।
भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवाले यो विमानस्थलको औपचारिक उद्घाटन गर्ने तयारी रहेको छ। उद्घाटनमा सहभागी हुन निगमको ए३२०मा जाने यात्रुलाई सुशोभित गर्न ऐतिहासिक ब्याज दिइनेछ। यससँगै विमानस्थलबाट व्यवसायिक उडान सुरू हुनेछ।
काठमाडौं–भैरहवाका लागि निगमको न्यारोवडी विमान काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिहान ८ बजे उड्नेछन्। विमानस्थलमा भोलिबाटै सातामा जजिरा एयरलाइन्सले ३ वटा उडान गर्नेछ।
यसअघि विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले प्रदर्शनी उडान गरिसकेको छ। नागरिक उड्यन प्राधिकरणले गत वैशाख १५ गते डेमो उडान समेत गरिसकेको छ। केही दिनअघि मात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले समेत विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाण पत्र दिइसकेको छ।
त्यस्तै यो विमानस्थललाई अन्तर्राष्ट्रिय उडानमा प्रेरित गर्न एक वर्षसम्म विमानस्थल सेवा शुल्क बापत लाग्ने सबै शुल्कमा छुट दिन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई प्रस्ताव गरेको छ।
प्राधिकरणले नयाँ विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार विमानस्थलको प्रचारप्रसार र एयरलाइन्स कम्पनीलाई आकर्षित गर्न विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने सबै शुल्कमा छुट दिने प्रस्ताव गरेको हो।