युएसडी टेरा अन्तर्गतको एक क्रिप्टोकरेन्सीको भाउ लगभग शून्यमा झरेको छ। लुना नाम दिइएको यो क्रिप्टोकरेन्सीलाई तुलनात्मक रूपमा स्थिर क्रिप्टोको रूपमा हेरिएको थियो।
बल्क चेनमा अधारित क्रिप्टोकरेन्सीहरू एक किसिमको अभौतिक मुद्रा हो। कुनै पनि मुलुकको केन्द्रीय बैंकहरूबाट नियमन नहुने यस्तो मुद्रा कप्युटरको माध्यमबाट माइनिङ (बनाइन्छ) गरिन्छ। क्रिप्टोकरेन्सीहरू बिटकोइन लगायतमा विभिन्न नाममा माइनिङ गरिएका छन्।
सन् २०१९ बाट सुरू भएको लुना करेन्सी एक सय १८ डलर (करिब १४ हजार २ सय ७८ रूपैयाँ) सम्म पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन्।
करिब ८४ करोड ८८ लाख बराबरका लुना मुद्रा निर्माण भएकोमा ३७ लाख ६१ हजार वटासम्म चलनचल्तिमा रहेको थियो। यसआधारमा हेर्दा यो उच्च मूल्यमा हुँदा लगानी गरेकाहरूको ४४ अर्ब ३७ करोड डलर (करिब ५३ खर्ब ६९ अर्ब रूपैयाँ) गुमाएका छन्।
भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार लुनाको भाउ घट्नुमा टेराअन्तर्गतकै अर्को मुद्रा युएसटीलाई त्यसको भाउ एक डलरसँग कायम राखिराख्ने गरि गरिएको पेग्ड हटाउनु हो। पेग्ड गर्दा एक डलरको अन्य मुद्रासँगको भाउ जति हुन्थ्यो युएसटीको भाउ पनि त्यतिनै हुन्थ्यो।
लुनामा भएको गिरावटले क्रिप्टोकरेन्सीको बजार नै प्रभावित भएको छ। बिटकोइनको मुल्य समेत केही दिनअघि ५० प्रतिशतसम्म घटेर ३१ हजार डलरमा कारोबार भइरहेको थियो।
लगानीकर्ताहरू तुलनात्मक रूपमा सुरक्षित मानिने भौतिक मुद्रा अमेरिकन डलरको खरीददारीमा लागेको समेत ती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। क्रिप्टोमा रहेको यस्तै सम्भावित जोखिमको कारण नेपालमा यस्तो मुद्रामा लगानी गर्न रोक लगाइएको छ।