चौधरी फाउण्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ। चौधरी फाउण्डेसनमार्फत् उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नती र विस्तार कार्यमा सारिकादेवी चौधरीको विशेष योगदान छ।
बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका हुन्। उक्त अवसरमा बोल्दै राज्यमन्त्री श्रेष्ठले देशको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले सर्वसाधरण नागरिकका सन्ततीले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा खुशी हुँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राखेको बताए।
फाउण्डेसनद्वारा १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरी २५ शैयाको निर्माण गरिएको छ। उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा.युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका हुन्। उनले भविष्यमा थप सेवा र सहयोग गर्नेमा समेत प्रतिबद्धता जनाए।
चौधरी फाउण्डेसन अर्बपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामकालागि स्थापना गरेका हुन्। राजनीतिमा समेत सक्रिय चौधरी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य छन्।
आकस्मिक कक्ष हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेसनका महासचिव सारिका देवी चौधरीले आफू आमा रहेको र आफ्ना सन्तान बिरामी पर्दा आमाहरूको मन कति पोल्छ भन्नेबारे आफूलाई गहिरो अनुभूति भएको बताइन्। बालबच्चाले उपचार पाउने कान्ति बाल अस्पताललाई आफूले रोज्नुको कारण पनि सोही रहेको उनले बताइन्।
कान्ति बाल अस्पताल नेपालको प्रमुख बाल अस्पताल हो। हरेक वर्ष करिब एक लाख पचास हजार बिरामी वालबालिकालाई चिकित्सकीय सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पताल ३७२ शैयाको छ। चौधरी फाउण्डेसनले आज हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रूपैयाँ छ।
फाउण्डेसनले इमरजेन्सी वार्डको पुनः सन्रचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटर लगायतका सामाग्री पनि उपलब्ध गराएको छ। फाउण्डेसनले इमरजेन्सी वार्डलाई निः शुल्क वाइफाई जोन पनि बनाएको छ। यसका लागि सिजी नेटको इन्टरनेट जडान गरिएको छ।