नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले बुधबारदेखि भारतमा सुरू भएको साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाएको छ।
२०७९ जेठ ४ गतेदेखि ६ गतेसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम सहित विभिन्न २१ वटा कम्पनी सहभागी भएका छन्। साटेलाई भारत सरकार, पर्यटन मन्त्रालयको सहयोगमा हुने दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रूपमा लिने गरिन्छ।
कोरोना महामारी (कोभिड-१९)ले थलिएको पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाएको बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मीले जानकारी दिए।
‘भारत नेपालको प्रमुख पर्यटन स्रोत बजार हो। बोर्डले साटेसँगै क्रसबोर्डर टुरिजम प्रर्वद्धनका लागि समेत काम गरेकोले यी सबै गतिविधीले भारतीय पर्यटक आगमनमा वृद्धि हुने र नेपालको प्रर्वद्धन हुने हाम्रो अपेक्षा छ,’ उनले भने।
कोभिड सक्रमण कम हुँदै जाँदा विश्वभर पर्यटन चलायमान हुन थालेको बताउँदै उनले पर्यटन बोर्डले भारतीय पर्यटकहरूलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरूका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोही अनुरुपको रणनीति समेत बनाएको जानकारी दिए।
साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ-संस्था तथा व्यक्तित्वहरूको सहभागिता रहेकोले यो प्लेटफर्म नेपालको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने कार्यक्रममा सहभागी बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।