हिमालय एयरलाइन्सकी उडान परिचारिका ओमनिका डंगोलसहितको टोलीले सगरमाथा आरोहण गरेको छ।
टोलीले सन् २०२२ को मे १६ मा सगरमाथाको ऐतिहासिक आरोहण गरेको हो। गत सोमबार बिहान साढे सात बजे थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग हिमालय एयरलाइन्सकी उडान परिचारिका डंगोलले सगरमाथाको चुचुरो आरोहण गरेकी हुन्।
आरोहणबाट फर्किएसँगै एयरलाइन्सले स्वागत कार्यक्रम राखेको थियो। जहाँ हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योगं र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए। टोलीलाई बधाई दिँदै उनले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो। ओमनिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनु भएकोमा हामी अत्यन्त खुसी छौं।’
डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छिन्। कम्पनीले ‘हिमालय एयरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको थियो। यससँगै एयरलाइन्सले उडान परिचारिका डंगोलकासाथ सगरमाथा आरोहण गर्ने तयारीमा विशेष जोड दिएको कम्पनीले बताएको छ।
नेपाल–चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सको स्थापना सन् २०१४ मा भएको हो। एयरलाइन्सले ४ वटा विमानहरू, १८० इकोनोमी सिटसहितका तीन ३२०-२१४ एअरबसहरू र १२० इकोनोमी तथा ८ बिजनेस सिटसहितको एउटा एअरबस ३१९-११५ सञ्चालनमा ल्याएको छ ।
कम्पनीले हाल मध्यपूर्व र दक्षिण एशियाका युएई, मलेसिया, कतार, साउदी अरेबिया र बंगलादेश लगायतका देशहरूमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ। कार्गो उडानहरू विशेष रूपमा नेपाल-चीन सञ्चालन गरिरहेको छ।