नेपालमा खाद्य र ऊर्जा संकट आउन सक्ने भन्दै बेलैमा तयारीमा लाग्न नेपाल उद्योग वाणिज्य महासंघले सुझाव दिएको छ।
आइतबार राजधानीमा आयोजित आर्थिक स्थायित्वका लागि पहल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष शेखर गोल्छाले यस्तो सुझाव दिएका हुन्।
‘रसिया युक्रेन युद्धका कारण आपूर्ति शृंखलामा अवरोध परेको छ,’ गोल्छाले भने, ‘इन्धन लगायत सामग्रीमा विश्वव्यापी भइरहेको मूल्यबृद्धि र नेपाली मुद्राको भाउ घटिरहेकोले यस्तो संकट आऊने संकेत देखिएको छ।’
हाल नेपालमा आफ्नो उत्पादनले नपुगेर वार्षिक छ हजार पाँच सय मेट्रिक टन खाद्यान्न अपुग रहेकाले पनि बेलैमा ध्यान दिनुपर्ने उनले बताए।
पछिल्लो समय भारतले पनि गहुँ निर्यात नगर्ने नीति लिएको छ। यसले नेपाललाई चहिले खाद्यान्न कमी हुने संकेत देखिएको पनि गोल्छाले बताए।
उनले भारतले हालै पेट्रोलमा लगाउँदै आएको अन्तशुल्क कर हटाएकोले नेपालले पनि पेट्रोलमा लगाउँदै आएको कर घटाउन सुझाव दिएका छन्।
त्यस्तै उनले विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने सुझाव दिएका छन्। उपत्यका बाहिर सफा टेम्पो चलाउनुपर्ने, विद्युतीय रेल जस्ता सवारीमा जोड दिनुपर्ने उनको भनाइ छ।
त्यस्तै प्रधानमन्त्री कृषि कार्यक्रमलाई पुनर्मूल्यांकन गर्न, कृषिको आय कर पाँच प्रतिशत मात्र कायम गर्न सुझाव दिएका छन्।