नेपाल आयल निगमले घाटा खाएर इन्धन बेच्नु परेकोले टाँट पल्टिने अवस्थाम आइपुगेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन्।
‘अहिले खाना पकाउने ग्याँसको मूल्य बढाउने हो भने बबाल हुने अवस्था छ,’ मन्त्री बडूले भने, ‘तर नबढाई भएको छैन।’ आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री बडूले यस्तो बताएका हुन्।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थहरूको मूल्यमा भएको वृद्धिसँगै नेपाल आयल निगमको घाटा २३ अर्ब रूपैयाँ पुगेको छ। निगमको मूल्य स्थिरीकरण कोष समेत रित्तिसकेको छ।
मन्त्री बडूले निगमको पनि कार्यसम्पादन सच्चिनुपर्ने अवस्था आएकोले निजी क्षेत्रबाट प्रतिस्पर्धी कम्पनी ल्याउनेमा छलफल भइरहेको जानकारी दिए। दीर्घकालिन तयारीको रूपमा यो विषयलाई अगाडी बढाइएको उनले बताएका हुन्।
मन्त्री बडूले कृषि औजार कारखाना सञ्चालन, रुग्ण उद्योग सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका छन्।