कोभिड महामारीका कारण बन्द रहेको बुद्ध एयरको काठमाडौं-वाराणसी उडान आजबाट पुनः सञ्चालनमा आएको छ। विगत दुई वर्षदेखि स्थगित रहेको बुद्ध एयरको अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालनमा आएको हो।
यसअघि बुद्ध एयरले भारतको वाराणसीमा साताको २ उडान, प्रत्येक सोमबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको थियो। सोहीअनुसार आज काठमाडौंबाट बिहान ७ः१५ बजे बुद्ध एयरको एटिआर जहाज भारतको वाराणसी उडान भरेको थियो।
सो उडानमा यात्रु संख्या ४४ र उडान सञ्चालन दलका ६ जना थिए। त्यसैगरी वाराणसीबाट काठमाडौंको लागि बिहान ८:४५ मा उडान भरेको थियो। वाराणसीबाट ३९ जना यात्रु काठमाडौं आइपुगेका छन्।
यो उडानबाट दुवै देशका व्यापारिक, धार्मिक तथा पर्यटकिय यात्रुहरूलाई सहज र सजिलो हुने बुद्ध एयरले जनाएको छ। कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकिय गन्तव्यहरूको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको छ।
बुद्ध एयरसँग ११ वटा एटिआर-७२, २ वटा एटिआर-४२ र २ वटा बिचएयरक्राफ्ट जहाजहरू छन्।