वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ। संघले आउँदो बुधबारदेखि लागू हुने गरी भाडा बढाएको हो।
इन्धनको मूल्य बढेसँगै संघले हवाई भाडा पनि बढाइएको जनाएको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी सम्पूर्ण इन्धनको मूल्य बढाएको थियो। हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर १० रूपैयाँले वृद्धि गरिएको थियो।
वृद्धि भएको भाडादर अनुसार अब काठमाडौंदेखि सबैभन्दा लामो दुरीमा रहेको धनगढी विमानस्थलसम्मको भाडा चार सय ४५ रूपैयाँले बढेर १५ हजार ६ सय ६५ रूपैयाँ कायम भएको छ। माउन्टेन फ्लाइटमा तीन सय ४० रूपैयाँ बढेको छ। अब काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडादर १३ हजार सात सय ६५ रूपैयाँ पर्छ।
त्यस्तै, काठमाडौंदेखि भद्रपुरको हवाई भाडादर ३०० रूपैयाँले बढेर ११,९३५ रूपैयाँ, काठमाडौंदेखि विराटनगरको भाडादर २४० रूपैयाँले बढेर ९,३२५ रूपैयाँ, काठमाडौंदेखि जनकपुरको भाडा १३० रूपैयाँले बढेर ५,२५० रूपैयाँ, काठमाडौंदेखि भरतपुरको भाडा ११० रूपैयाँले बढेर ४,४३५ रूपैयाँ पुगेको छ।
काठमाडौंदेखि पोखराको भाडादर भने १६० रूपैयाँ बढेर ६,३०५ रूपैयाँ कामय गरिएको छ। काठमाडौंदेखि भैरहवाको भाडा २०५ रूपैयाँले बढेर ७,८८० रूपैयाँ, काठमाडौंदेखि नेपालगञ्जको भाडादर ३२५ रूपैयाँ बढेर १२,८९५ रूपैयाँ, काठमाडौंदेखि तुम्लिङटारको भाडादर १८५ रूपैयाँ बढेर ७,४६० रूपैयाँ र काठमाडौंदेखि सिमराको भाडादर ९० रूपैयाँ बढेर ३,७२५ रूपैयाँ पुगेको छ।