हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमा २२ वटा नाफामा रहेको र १९ वटा घाटा खाइरहेको शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणमा छ।
नाफामा रहेका संस्थानहरूबाट सरकारले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ७२ करोड रूपैयाँ लाभांश पाएको छ।
सरकारले संस्थानहरूबाट पाएको लाभांश भने यो वर्ष ५२ प्रतिशत घटेको छ। यसअघि १४ अर्ब ९ करोड लाभांश पाएको थियो।
२०७८ असारसम्म संस्थानमा सरकारको ३ खर्ब १४ अर्ब सेयर लागनी र २ खर्ब ५२ अर्ब ऋण लगानी छ। संस्थानहरूको कुल सञ्चालन आम्दानी १.५१ प्रतिशत बढेर ४ खर्ब ३५ अर्ब पुगेको छ।
सार्वजनिक संस्थानहरूको खुद नाफा पनि यो वर्ष घटेको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा ४५.४२ प्रतिशत घटेर २६ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ।
आव २०७७/७८ मा सञ्चालनमा रहेका संस्थानमध्ये नाफामा रहेकाको कुल नाफा ३२ अर्ब १९ करोड र घाटामा रहेका संस्थानको नोक्सान ५ अर्ब ८३ करोड रूपैयाँ छ। यस आधारमा संस्थानहरूको एकीकृत नाफा २६ अर्ब ३५ करोड छ।
आव २०७६/७७ मा यस्तो एकीकृत नाफा ४८ अर्ब २९ करोड थियो।