नेपाल चेम्बर अफ कमर्सले १६औं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ।
मुलुकमा रहेका प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग एवम् निर्यातको वातावरण सिर्जना गर्ने गरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो।
१६औं योजनाको अवधारणा एवम् अतिकम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नतिपछि उत्पन्न परिस्थितिबारे चेम्बरले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ सहित निजी क्षेत्रका सरोकारवालासँग चेम्बर भवनमा बिहीबार बृहत छलफल गरेको हो।
१५औं योजनामा उल्लेखित कतिपय लक्ष्यहरू पूरा हुन नसकेको सन्दर्भमा १६औं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।
योजना आयोगको लक्ष्य एवम् सरकारको वार्षिक बजेटबीच समन्वय हुन नसक्दा अपेक्षा अनुसारको परिणाम हासिल हुन नसकेको मल्लको भनाइ छ।
अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष मल्लले भने, '१५औं योजनाको अन्त्य हुने आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि १०.३ प्रतिशत गर्ने लक्ष्य राखिएको थियो। चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिको लक्ष्य नै ६ प्रतिशत राखिएको छ।'
१५औं योजनामा समावेश गरिएका अधिकांश लक्ष्यहरू अधुरै रहेको अध्यक्ष मल्लको भनाइ छ।
प्रमुख सहरहरूमा मेट्रो रेल निर्माण, १८ स्थानमा औद्योगिक क्षेत्र निर्माण जस्ता महत्वकांक्षी कार्यक्रमहरू १५औं योजनामा समावेश भए पनि कार्यान्वनय हुन नसकेको अध्यक्ष मल्लले बताए।
नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रहरूको सूचीबाट स्तरोन्नति हुने भएकाले त्यसपछिको अवस्थालाई मध्यनजर गरेर रणनीति तय हुनुपर्ने चेम्बरले सुझाव समेत दिएको छ।