‘टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा सुरू भएको छ।
अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रदर्शनी साउन २५ गतेसम्म चल्नेछ।
कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशालाहरू, बिजनेस स्टल, क्लबका गतिविधि र रमाइला खेलहरू यसका आकर्षण रहनेछन्।
यो कार्यक्रम प्लस टु उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आइटीमा गहिरो रूचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ। प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क छ।
विद्यार्थीद्वारा निर्मित परियोजनाको प्रदर्शनी, अमेरिकासँग सम्बद्ध प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले बिएससी आइटी, एमएससी आइटी, बिबिए, एमबिए, डाटा एनालिटिक्स र आइटीमा एमबिएजस्ता कार्यक्रम सञ्चालन गर्छ।
यो इभेन्टमा बिएससी आइटीका अन्तिम वर्षका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन्।
करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।
प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्प वृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने) लगायत छन्।
प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरूङले वेस्टक्लिफ युनिभर्सिटीको सहकार्यमा क्रेडिट ट्रान्सफर सुविधाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनको थप अवसर दिने जानकारी दिइन्।