चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको सेवा सुरू गरिएको छ।
आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँबाट दिने उद्देश्यले उक्त सेवा सुरू गरिएको हो।
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको बताइएको छ।
सेन्टरको उद्घाटन 'द गड अफ साइट'को रुपमा प्रख्यात तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. डा सन्दुक रुइत साथै प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गरेका हुन्।
यस सेन्टरले आँखासम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्छ।
आँखासम्बन्धी उन्नत निदान उपकरणहरूका साथै दक्ष कर्मचारीहरूद्वारा आँखाको जाच गरिन्छ। नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू यसले प्रदान गर्ने बताइएको छ।
मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरूको उपचार, आँखाको सौन्दर्यसम्बन्धी उपचारका साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवा सुविधाहरू पनि यो संस्थाले प्रदान गर्नेछ।
न्यानो र स्वागतयोग्य वातावरणमा बिरामी केन्द्रित उपचार सहित हरेक वर्गका सेवाग्राहीहरूले सरल र सहज तरिकाले उचित सेवा सेन्टरले प्रदान गर्ने जनाइएको छ।