युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०८० सम्पन्न भएको छ।
कार्यक्रम शनिबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सुरू भएको हो।
कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गरे।
कार्यक्रममा नेपालकै चर्चित आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरसेफ सन्तोष साह, डिआरएस गेमिङ, क्रिकेटर पारस खड्का, इ–सेवाका सिइओ जगदिश खड्का लगायतले आ–आफ्ना प्रस्तुति दिएका थिए।
मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै डिआरएस गेमिङलाई एक लाख रुपैयाँको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ।
साँझ ६ बजेसम्म चलेको कार्यक्रममा गायकहरू नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठ लगायतको प्रस्तुति रहेको कार्यक्रम संयोजक राजु टण्डनले जानकारी दिए।
करिब पाँच हजार विद्यार्थी तथा युवाहरूको कार्यक्रममा सहभागिता रहेको उनको भनाइ छ।
केवाइसी युवा विद्यार्थीहरूलाई मोटिभेट र इन्स्पायर गर्ने कार्यक्रम हो।
नेपालमै रहेर उल्लेख्य प्रगति गरेका ख्यातिप्राप्त व्यक्तिहरूको सफलताका कथा युवामा वितरण गर्नु, नेपाली उत्पादनको प्रवर्द्धन गर्नु, नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नु यो कार्यक्रमको उद्देश्य रहेको बताइएको छ।
हरेक वर्ष आयोजना हुँदै आएको यो केवाइसीको चौथो श्रृंखला हो।