काठमाडौंको नयाँ बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेजका विद्यार्थीहरूले 'फुड एण्ड आर्ट' महोत्सव आयोजना गरेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका लुभुस्थित जिनियस आइबी वर्ल्ड स्कुलमा महोत्सवको आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन एमाले नेता एवम् पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले संयुक्त रुपमा गरे।
कार्यक्रममा नेपाली र विदेशी गरी खानाका १६ परिकार र विभिन्न डिजाइनका खानाका मोडलहरू प्रदर्शनी गरिएको थियो।
महोत्सवको आयोजना कलेजका ब्याचलर अफ होटल म्यानेजमेन्ट, ब्याचलर अफ हस्पिटालिटी एण्ड क्याटरिङ म्यानेजमेन्ट, ब्याचलर अफ बिजनेश एडमिनिष्ट्रेसन, ब्याचर लफ इन्टेरियर डिजाइन र मास्टर्स अफ बिजनेश एडमिनिष्ट्रेसनका ६ सयसहित होटल व्यवस्थापन अध्ययनरत विभिन्न कलेजका गरी एक हजार विद्यार्थी सहभागी थिए।
अध्ययनका क्रममा आफूहरूले सिकेका ज्ञान प्रयोग गरी बनाइएका परिकार र डिजाइनहरू प्रदर्शनीमा राखिएको उक्त कलेजमा अध्ययनरत विद्यार्थी पविना श्रेष्ठले बताइन्।
उनका अनुसार खानाका चारवटा स्टल र डिजाइनिङको दुईवटा स्टल राखिएको थियो।
श्रेष्ठले भविष्यमा आफैंले कुनै व्यवसाय गर्न वा जागिर खानका लागि महोत्सवबाट व्यवहारिक ज्ञान आर्जन भएको बताइन्।
२३ वर्षअघि सन् २००० मा स्थापित कान्तिपुर निजी क्षेत्रले सञ्चालन गरेको होटल व्यवस्थापनसम्बन्धी नेपालकै पहिलो कलेज हो।