अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन्।
उनले नेपालमा लगानी भित्र्याउनका लागि आफूले अमेरिकी लगानीकर्तालाई उत्प्रेरित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
अमेरिकन च्याम्बर्स अफ कमर्स (एमच्याम) को आयोजनामा शुक्रबार साँझ काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले नेपालमा पछिल्लो समय ऊर्जा, प्रविधि र पर्यटन लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना देखेको बताए।
अमेरिका र नेपालको पुरानो तथा गहिरो सम्बन्ध रहेको चर्चा गर्दै सिनेटर होलनले एमच्यामले नेपाल र अमेरिकी लगानीकर्ताबीच समन्वयकारी भूमिका खेल्न सक्ने बताए।
अन्तर्क्रिया कार्यक्रममा एमच्यामले आफ्नो प्राथमिकताका आधारमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रबारे संक्षिप्त भिडिओ प्रस्तुत गरेको थियो। ती भिडिओले नेपालमा यी क्षेत्रमा रहेको सम्भावनालाई निकै मिहिन ढंगले देखाएको सिनेटर होलनले उल्लेख गरे।
ऊर्जाको क्षेत्रमा भर्खरै एमसिए नेपालले काम सुरू गरेको समेत उनले जानकारी गराए। अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै सहयोग गरेको उनको भनाइ छ ।
हेलनले नेपालमा लगानिको इको सिस्टम सहज वातावरण पनि भेटेको बताए ।
कार्यक्रममा अमेरिकी राजदुत आर थम्सनले नेपालमा एमच्यामले अमेरिकी लगानिकर्ताहरुलाई प्रभावकारी समन्वय गरिरहेकोमा खुसी व्यक्त गरे।
अन्तर्क्रिया कार्यक्रममा सोल्टी होटलका ऋषि चोपडाले अमेरिकी लगानीमा रहेको सोल्टी होटलले ग्लोबल क्षेत्रमा पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाबारे भिडिओ प्रस्तुत गरेका थिए।
यस्तै, मोतिलाल दुगडले मोघा इनर्जी कम्पनिको बारेमा र हेमपाल श्रेष्ठले प्याराकोस्मा आईटी कम्पनीबारे भिडिओ प्रस्तुत गरेका थिए।
कार्यक्रममा एमच्यामका अध्यक्ष अजित शाहले ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा नेपालमा एक्सप्लोर हुन बाँकी धेरै रहेको उल्लेख गरे।
उनले नेपालमा यी क्षेत्रमा धेरै नै सम्भावना रहेको उल्लेख गर्दै अमेरिकाले यसतर्फ लगानी गर्नुपर्नेमा जोड दिए। अन्तर्क्रिया कार्यक्रममा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रम अमेरिकाको लगानीबारे विशेष चर्चा गरिएको थियो।