पशुपति क्षेत्र विकास कोषले बनकालीमा पार्किङ रद्द गरेको छ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो।
पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा.लिले सम्झौता पालना नगरेको भन्दै ठेक्का रद्द गरेको हो।
सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नु पर्नेमा लामो समयसम्म बक्यौता बाँकी राखेको र थुप्रै नियम उल्लघंन गरेको भन्दै कोषले एक महिनाभित्र बक्यौता उठाउने सँगै ठेक्का रद्द गर्ने निर्णय गरेको जनाएको छ।
कोषको बैठकले ठेकेदार कम्पनी इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा.लि.को बैंक ग्यारेन्टी समेत जफत गर्ने बताएको छ।
ठेक्काको सम्झौताको शर्त नं. ६ मा 'बढीमा ३ महिनासम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ। तोकिएको समयमा भाडा नबुझाएमा सम्झौता रद्द गरी धरौटी रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ' भनिएको छ।
कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मितिसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ देखिएको छ।