पछिल्लो समय बिएचएम (हस्पिटालिटी व्यवस्थापनमा स्नातक) पाठ्यक्रमप्रति विद्यार्थीको रूचि बढ्दो छ।
यो पढाइ सकेपछि हस्पिटालिटी क्षेत्रमा करिअर बनाउन सजिलो हुने भएकाले आकर्षण बढिरहेको काठमाडौं, थापाथलीस्थित द ब्रिटिस कलेजका शिक्षक जीतेन्द्र रोकाया बताउँछन्।
बिएचएम पढ्न खोजिरहेका धेरैलाई यो कस्तो पढाइ हो, भर्नाका मापदण्ड के हुन्, यसको दायरा के छ, पाठ्यक्रम कसरी डिजाइन गरिएको छ जस्ता थुप्रै जिज्ञासा हुन्छन्।
हामीले यिनै प्रश्न द ब्रिटिस कलेजको बिएचएम कार्यक्रम प्रमुख समेत रहेका रोकायालाई सोधेका छौं।
बिएचएम कस्तो प्रकारको पाठ्यक्रम हो? यसमा के-कस्तो विषय पढाइ हुन्छ?
यसको पढाइ आतिथ्य क्षेत्रका व्यवसाय तथा संगठन व्यवस्थापन र प्रशासनमा केन्द्रित छ। आतिथ्य उद्योगले होटल, रेस्टुरेन्ट, क्याफेदेखि रिसोर्ट, कार्यक्रम योजना र पर्यटन क्षेत्रलाई पनि समेट्छ। यी क्षेत्रहरूमा करिअर बनाउन आवश्यक हरेक ज्ञान र सीप प्रदान गर्ने ढंगमा बिएचएमको पाठ्यक्रम डिजाइन गरिएको छ। सोही ढंगमा सम्बन्धित विषयहरू पढाइन्छ।
द ब्रिटिस कलेजमा हामी स्नातक पहिलो वर्षमा आधार स्तरको अध्ययन गराउँछौं। यसलाई लेभल-३ अर्थात् तेस्रो तहको अध्ययन भनिन्छ। आतिथ्य उद्योगको विस्तृत परिचयदेखि खाद्य सुरक्षाको पर्यवेक्षण, फ्रन्ट अफिस सञ्चालन, आतिथ्य सेवामा ग्राहक सेवा प्रावधानदेखि इभेन्ट व्यवस्थापन र आतिथ्यमा प्रविधि र डिजिटल मिडियाको भूमिकासम्मका विषय पढाइन्छ।
शिक्षण शैली कक्षा कोठा र किताबी ज्ञानमा सीमित नराखी सैद्धान्तिक र व्यावहारिक पठनपाठनमा जोड दिन्छौं। हामीसँग व्यावहारिक तरिकाले पढाउन आवश्यक अत्याधुनिक प्रयोगशाला, भान्सादेखि सामग्रीहरू सबै छन्।
त्यसपछिको चौथो तह परिचालन एवं सञ्चालन स्तरको पढाइमा केन्द्रित छ। पाँचौं र छैठौं तह भने व्यवस्थापनसम्बन्धी पढाइमा केन्द्रित छन्। यी तहहरूको अध्ययनका लागि विद्यार्थीहरूलाई विदेश पठाउँछौं, जहाँ हाम्रो साझेदार संस्था छन्। त्यहीँ इन्टर्नसिपको व्यवस्था मिलाइदिन्छौं। यसरी विद्यार्थीहरूले फिल्डमै काम गर्ने हुँदा स-सानो कुराको पनि राम्रो ज्ञान पाउन सक्छन्।
हामी 'लर्न एन्ड अर्न' अर्थात् पढ्दै कमाउनुहोस् भन्ने मोडालिटीमा विश्वास राख्छौं। यसैलाई आधार मानेर पाठ्यक्रम डिजाइन गरिएको छ। र, सोही अनुरूप विषयहरू पढाइन्छ।
चौथो तहदेखि विद्यार्थीहरूलाई कुन देशमा पढाइने हो? त्यहाँ बस्ने लगायत सुविधा कस्तो छ?
हामीले दुबईमा रहेको द वुलविच इन्स्टिच्युटसँग साझेदारी गरेका छौं। तेस्रो तह सकेपछि चौथो र पाँचौं तहका लागि त्यही इन्स्टिच्युटमा पठाउँछौं। प्रत्येक तह एक वर्षको हुन्छ। विद्यार्थीहरू आफ्नो आर्थिक क्षमताअनुसार एक्लै वा सहकार्यमा इन्स्टिच्युटनजिकै बस्न सक्छन्।
उनीहरूको इन्टर्नसिपको सुनिश्चितता भने इन्स्टिच्युटले लिन्छ। कोही पनि विद्यार्थीलाई इन्टर्नसिप गर्नबाट छुटाउँदैनौं। अन्तर्राष्ट्रिय बजार अनुभव उपलब्ध गराउने सोचसँगै द ब्रिटिस कलेजको पाठ्यक्रम यस ढंगमा तयार पारिएको हो।
इन्स्टिच्युटमा बिहान पढाइ हुन्छ। दिउँसो र साँझको समय इन्टर्नसिपमा पठाइन्छ। प्रशिक्षार्थीहरूले निश्चित रकम पनि पाउँछन्। यसले पनि हाम्रो 'लर्न एन्ड अर्न' को प्रतिबद्धता झल्काउँछ।
पाँचौं तहको पढाइ सकेपछि विद्यार्थीहरूले 'पियर्सनस् डिप्लोमा' प्राप्त गर्छन्। यो डिप्लोमा प्राप्त गर्ने विद्यार्थीहरू बिएचएम क्षेत्रमा काम गर्न योग्य ठहरिन्छन्। द ब्रिटिस कलेजको पाठ्यक्रम अन्तर्राष्ट्रिय विश्वविद्यालयले मान्यता दिने तरिकामा तयार गरिएको छ।
यसपछि छैठौं तहका लागि इच्छुक विद्यार्थीले दुबईमै अथवा बेलायतको ग्रिनवीच विश्वविद्यालयमा पढ्न सक्नेछन्। ग्रीनवीच विश्वविद्यालयसँग हाम्रो सहकार्य छ। यसबाहेक नेपालमै आएर गर्छु भने पनि विकल्प छ।
विद्यार्थीहरूको सुरक्षाको जिम्मेवारी हाम्रो हुन्छ। कतिपय अभिभावक यस विषयमा बढी चिन्तित सुनिनुहुन्छ। तर हाम्रो व्यवस्थापन अब्बल भएकाले र दुबई आफैंमा सुरक्षित भएकाले सुरक्षाको हिसाबमा चिन्ता हुँदैन। विद्यार्थीहरू कलेजको बिदा र इन्टर्न गरिरहेको ठाउँबाट बिदा मिलाएर समय-समयमा नेपाल आउन सक्छन्।
बिएचएम गर्नुको फाइदा के हो? यो पाठ्यक्रम सकेपछि नेपाल र विदेशमा के-कस्ता अवसर पाउन सकिन्छ?
बिएचएम यस्तो पाठ्यक्रम हो जसले विश्वको जुनसुकै कुनामा गए पनि काम गर्ने बाटो खोलिदिन्छ। अहिले संसारभर होटल, रेस्टुरेन्ट तथा क्याफे र पर्यटन क्षेत्र फस्टाइरहेको समय छ। यस्तोमा बिएचएम गर्ने विद्यार्थीहरूलाई बजारमा आफूले सक्ने काम पाउन मुस्किल छैन। अन्य विषय पढेर यस क्षेत्रमा लाग्नु र बिएचएम नै पढेर लाग्नेहरूबीच निकै भिन्नता देखिन्छ। बिएचएम गरेकाको काम गर्ने शैली अन्यको तुलनामा व्यावसायिक हुन्छ।
नेपालमा अझै पनि यस क्षेत्रमा प्रभावकारी जनशक्ति र प्रणालीको कमी महसुस हुन्छ। विद्यार्थीहरूले यसैकारण पनि आवश्यकता अनुसारको अवसर प्राप्त गर्न सकिरहेका छैनन्। विदेशमा भने बिएचएम गरेका विद्यार्थीले राम्रो गरिरहेका छन्।
पश्चिमी मुलुकमा जस्तो नेपालमा काम गर्दै पढ्ने संस्कृति निकै कम छ। स्नातकसम्म भए पनि अभिभावकले आफ्नै खर्चमा छोराछोरी पढाइरहेका छन्। द ब्रिटिस कलेजको लर्न एन्ड अर्न मोडालिटीले विद्यार्थीलाई स्नातक तहदेखि नै आत्मनिर्भर बनाउन पनि सिकाउँछ। इन्टर्नसिप गरेका विद्यार्थीले पढाइसँगै कामको अनुभव लिन्छन्। यसले भविष्यमा उनीहरूलाई रोजगार बजारमा सहज बनाउँछ।
द ब्रिटिस कलेजमा बिएचएम पढ्न मापदण्ड तोकिएका छन्? छन् भने ती के-के हुन्?
द ब्रिटिस कलेजमा बिएचएम पढ्न इच्छुक विद्यार्थीको उमेर १८ वर्ष पुगेको हुनुपर्छ। त्यस्तै प्लसटुमा कम्तीमा ६० प्रतिशत अंक ल्याएको हुनुपर्छ। त्यो भनेको अहिलेको सिजिपिए ३.२ भन्दा बढी हो।
त्यस्तै विद्यार्थीको अंग्रेजी लेखन, पठन र वाचन शुद्ध र स्पष्ट हुनुपर्छ। यसका लागि हामी छोटो परीक्षा पनि लिन्छौं। बिएचएम संकायमा अन्तर्राष्ट्रिय शिक्षकहरूले पढाउने र समय-समयमा भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय विश्वविद्यालयका शिक्षकहरूले पढाउने हुँदा यो कडाइ गरेका हौं।
बिएचएम पढ्न चाहने विद्यार्थी संख्या अनुपात कस्तो छ? कस्ता विद्यार्थी भर्ना हुन इच्छुक छन्?
द ब्रिटिस कलेजमा अहिले तीनवटा ब्याचको पढाइ हुँदैछ। यो संकाय पढ्न इच्छुक बढी जसो पुरूष छन्। ६० प्रतिशत पुरूष र ४० प्रतिशत महिला छन्।
अहिले कलेज पढिरहेका विद्यार्थीमध्ये ३० प्रतिशतले आफ्नै व्यवसाय पनि गरिरहेका छन्। उनीहरू बिहान पढाइ सकेर बाँकी समय व्यवसायमा लागेका छन्। व्यवसाय पनि बढी जसो आतिथ्य व्यवस्थापन सम्बन्धी नै छन्।
अरू १०-२० प्रतिशत विद्यार्थी विदेश जाने सोचमा छन्। बाँकी भने नेपालकै होटल क्षेत्रमा जागिर गर्न इच्छुक छन्। विद्यार्थीको सोच र लक्ष्यलाई हामी समर्थन गर्दै आवश्यक पर्दा प्रोत्साहन गर्छौं।