दिगो विकासका लागि युवाहरूको सहभागिता गर्ने उद्देश्यका साथ काठमाडौं मोडल कलेजले संयुक्त राष्ट्रसंघ नेपालस्थित कार्यालयको सहकार्यमा दिगो विकासमा युवाहरूको पहुँचसम्बन्धी कार्यक्रम आयोजना गरेको छ।
२० भन्दा बढी कलेजका विद्यार्थी तथा प्राध्यापकहरूको सहभागितामा सञ्चालित उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघ सूचना केन्द्रका पदाधिकारीहरूको विशेष उपस्थितिमा सञ्चालन भएको थियो।
काठमाडौं मोडेल कलेजका प्रमुखसुरेन्द्र सुवेदीले दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि युवाहरूको आवश्यकता र सहकार्यका लागि महत्वपूर्ण भूमिका रहने कुरामा प्रकाश पारे।
कार्यक्रममा संयुक्त राष्ट्र संघको सूचना केन्द्रकी अधिकृत सिम्रिका शर्माले दिगो विकासको लक्ष्य प्राप्त गर्न विद्यार्र्थी, विज्ञ, विभिन्न संघसंस्था एवम् नीति निर्माताहरू एक हुनुपर्ने धारणा व्यक्त गरिन्।
संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालायका आर्थिक तथा दिगो विकास कार्यक्रमका सल्लाहकार एवं काठमाडौ मोडेल कलेज बागबजारका भुतपुर्व विद्यार्थी संगठनका सदस्य सुवास नेपालीले नेपालको दिगो विकासमा वर्तमान अवस्थाबारे आफ्नो प्रस्तुति राखे।
उनले दिगो विकासको लक्ष्य प्राप्त गर्न धेरै कार्यक्रमहरू सञ्चालन भएपनि अझै धरै काम गर्न बाँकी रहेको बताए।
सोही कार्यक्रममा योजना अधिकृत कार्तिका यादव, युनिसेफका शिक्षा अधिकृत पूर्णिमा गुरुङ, युनेस्कोका प्रतिमा श्रेष्ठ र प्रयत्न नेपालका जलसा सापकोटाबिच प्यानल छलफल सञ्चालन गरिएको थियो।
कलेजका शिक्षक एलिस राजोपाध्यायले मोडरेट गरेको सो कार्यक्रममा दिगो विकास प्राप्त गर्न देखिएको चुनौती र त्यसको समाधानका उपायका निम्ति कार्यशाला गरिएको थियो।
काठमाडौं मोडेल कलेजका आन्तरिक गुणस्तर प्रत्यायन समितिका प्रमुख ध्रुवप्रसाद तिमिल्सिनाले समग्र कार्यक्रमको समीक्षा गर्दै धन्यवाद ज्ञापन गरे।