उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि आकांक्षीहरूको दौडधुप सुरू भएको छ।
अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरीष पन्तले उम्मेदवारी दिएका छन्।
श्रेष्ठले उपाध्यक्ष र सदस्यहरूको प्यानल नै बनाएर उम्मेदवारी दिएका छन्। पन्त बिना प्यानल अध्यक्षको प्रतिस्पर्धामा छन्।
उद्योग वाणिज्य संघ चितवनको ५७ औं साधारणसभा शनिबार हुँदैछ। सोमबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनअघि उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफ्नो लागि भोट मागिरहेका छन्।
उद्योग वाणिज्य संघ चितवनमा अहिले २ हजार ९ सय ७४ जना सदस्य छन्।
अध्यक्षका उम्मेदवार श्रेष्ठले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निभाउने बताएका छन्।
५३ वर्ष पुरानो नारायणी फर्निचर सेन्टरका सञ्चालक श्रेष्ठले साना, मझौला तथा ठूला व्यवसायमा आफूले प्राप्त गरेको अनुभवलाई उद्योग वाणिज्य संघका लागि प्रयोग गर्ने बताए।
उनले अध्यक्षमा निर्वाचित भए स्थानीय सरकारसँगको सहकार्यमा फुटपाथमा व्यापारिक गतिविधि निरूत्साहन गरी फुटपाथ व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था मिलाउन समन्वय गर्ने बताए।
बजार क्षेत्रमा पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने, आर्थिक मन्दीको असर परेको व्यवसाय क्षेत्रमा कर घटाउन पहल गर्ने, घरभाडा कम गर्न घरबेटीसँग सहकार्य र समन्वय गर्ने, पसलहरूको होर्डिङ बोर्डको कर पूर्ण रूपमा खारेज गर्न पहल गर्ने लगायतका एजेण्डामा काम गर्ने श्रेष्ठले बताए।
१८ वर्षअघि संघको सदस्य भएका श्रेष्ठ द्वितीय उपाध्यक्ष, दुई पटक प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेका छन्।
अध्यक्षका अर्का उम्मेदवार पन्तले उपाध्यक्ष पदमा दोहोरिए उद्योगी व्यवसायीको हितमा काम गर्न नसकिने देखेर अध्यक्षमा उम्मेदवारी दिएको बताए।
गत अधिवेशनमा उनी सर्वाधिक मत प्राप्त गरेर उपाध्यक्ष बनेका थिए।
‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीका हक, हितका लागि धेरै काम गर्ने प्रयास गरेँ। धेरै ठाउँमा बोलेँ। संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ। तर उपाध्यक्षले चाहेर यहाँ केही गर्न सकिने रहेनछ,’ पन्तले भने, ‘आफूले चाहेर पनि गर्न नसकेका धेरै कामहरू गर्न मैले अध्यक्ष पदमै उम्मेदवारी दिनुपर्यो।’
उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण उम्मेदवार बन्नु परेको बताए।
पन्तले उद्योग वाणिज्य संघ चितवनले सञ्चालन गर्ने चितवन महोत्सवको हिसाबकिताब महोत्सव सकिएको ३५ दिनभित्रमा सार्वजनिक गर्ने प्रतिबद्धता गरेका छन्।
संघले हरेक दुई वर्षमा चितवन महोत्सव आयोजना गर्छ। पछिल्लो पटक भएको महोत्सवको आम्दानी ढिलो सार्वजनिक गरेको भन्दै संघका पदाधिकारीको आलोचना भएको थियो। पन्तले महोत्सवको स्टल बुकिङ गर्दा आर्थिक अनियमितता हुन नदिन अनलाइन प्राणालिबाट बुकिङ गर्ने व्यवस्था मिलाउने बताएका छन्।
पन्तले आफू अध्यक्ष भए झोलामा संघको सदस्यता बोकेर हिँड्ने तर कहिल्यै पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानबिन गरी हटाउने बताएका छन्। यसो गर्दामात्रै संघलाई व्यवसायीहरूको विशुद्ध संगठन बनाउन सकिने उनको भनाइ छ।
उनले घाटामा चलिरहेको संघको अतिथि गृह बन्द गरी भोकेसनल ट्रेनिङ सेन्टर सञ्चालन गर्ने, संघमा आबद्ध व्यवसायीहरूको सुरक्षाका लागि बीमा गर्ने, व्यवसाय कर, घरबाहल कर तथा विज्ञापन करको समस्यालाई नीतिगत रूपमा समाधान गर्ने, बैंकहरूले मनोमानी ढंगले बढाउने ब्याजदरमा एकरूपता बनाउन दबाब दिने एजेण्डाहरू बोकेका छन्।
पन्तले संघमा महिला उपाध्यक्ष पदको व्यवस्था गर्न विधान संशोधन गर्ने, नारायणगढ र भरतपुरभन्दा माथि उठेर अन्य स्थानीय तहलाई समेत जोड्ने गरी काम गर्ने, होटल तथा रेष्टुरेन्टहरू चौबिसै घण्टा सञ्चालन हुन दिन पहलकदमी दिने प्रतिबद्धता जनाएका छन्।
हार्डवेयर व्यवसायी पन्त उद्योग वाणिज्य संघमा विगत ६ वर्षदेखि क्रियाशील छन्। उनी अघिल्लो समितिमा वस्तुगततर्फ संयोजक थिए।
संघको वरिष्ठ उपाध्यक्षमा चीरञ्जीवी सुवेदी र राजन पियाले उम्मेदवारी दिएका छन्। सुवेदी तीन पटकसम्म संघको उपाध्यक्ष भइसकेका छन्। पिया पहिले संघको सदस्य थिए। उपाध्यक्ष पदमा वाणिज्यतर्फ राजेन्द्र ओली र रजनी मास्के उम्मेदवार छन्। ओली अघिल्लो कार्यकालमा स्वतन्त्र उम्मेदवारी दिएर उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनी पाँच पटक संघको सदस्य भइसकेका छन्। सदस्य हुँदा पनि उनले विभिन्न समितिको संयोजक बनेर काम गरेका थिए। उपाध्यक्ष भएपछि उनी नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्त तथा बीमा समितिको आमन्त्रित सदस्य बनेका थिए। प्लास्टिक व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष ओली ओली प्लास्टिक सेन्टरका सञ्चालक हुन्।
छ पटक सदस्य भइसकेकी मास्के उद्योग वाणिज्य संघ चितवनको इतिहासमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो महिला हुन्। उनी मास्के पुस्तक पसलको सञ्चालक हुन्। उनले उद्योग वाणिज्य संघमा कोशेली घर स्थापना गर्न र महिला उद्यमी भेला तथा महिला उद्यमी मेला गराउन संयोजन गरेकी थिइन्।
अघिल्लो पटक स्वतन्त्र उम्मेदवार बनेर उपाध्यक्ष जितेका ओली अहिले संस्थापक समूहको प्यानलबाट उपाध्यक्ष बनेका छन् भने अघिल्लो पटक संस्थापक प्यानलबाट सदस्य बनेकी मास्के अहिले स्वतन्त्र रूपमा उपाध्यक्षको उम्मेदवार बनेकी हुन्।
वस्तुगत/कर्पोरेटतर्फ उपाध्यक्षमा नारायण प्रधान र जनक पौडेल उम्मेदवार बनेका छन्। प्रधान २०६८ सालदेखि संघको सदस्य छन्। पौडेल एक पटक संघको सदस्य भएका छन्।
उद्योगतर्फको उपाध्यक्षमा भने अशोक अधिकारीको नाममा सहमति बनेको छ। उद्योगतर्फ उम्मेदवारी दर्ता गरेका थिरप्रसाद धितालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि अधिकारी उपाध्यक्ष बन्ने निश्चितजस्तै छ।
संघको सदस्यमा उद्योगतर्फ ६, वाणिज्य ६ जना र महिला उद्यमीतर्फ एक जनाका लागि निर्वाचन हुँदैछ। वस्तुगत संघतर्फका ४, कर्पोरेट २, एक जना क्षेत्रीय सदस्य निर्विरोध भइसकेका संघका कार्यक्रम तथा सदस्य व्यवस्थापन अधिकृत गणेश सुवेदीले जानकारी दिए।
संघको सदस्यमा ३ जनालाई मनोनित गर्ने व्यवस्था छ। साथै शिक्षा, कृषि, स्वास्थ्य र पर्यटनतर्फका एक/एक जना विशिष्ट व्यक्तित्वलाई सदस्यमा मनोनीत गर्ने गरिन्छ।