सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्सको आयोजनामा हरेक आइतबार हुँदै आइरहेको 'रोबो वारियर्स लिग' यस पटक मंगलबार हुँदैछ।
भारी वर्षाका कारण पूर्वनिर्धारित खेल प्रभावित भएपछि कलेजले खेल तालिका परिमार्जन गरेको हो।
यससँगै विद्यार्थी प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहित गर्न आयोजना गरिएको रोबो वार ब्याटल लिगको चौँथौ हप्ताको खेल मंगलबार हुनेछ।
कलेजले विगत एक महिनादेखि ६ महिना लामो रोबो वार ब्याटल लिग चलाइरहेको छ।
यस लिग काठमाडौंको डिल्लीबजारस्थित कलेज परिसरमा नै सञ्चालन हुँदै आएको छ। लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ वटा रोबोटहरूलाई एकआपसमा जुधाइने गरेको छ।
ती रोबोट बनाउन विद्यार्थीहरूलाई प्रविधि, शिक्षा लगायत अन्य क्षेत्रमा काम गरिरहेका कम्पनी तथा संघ संस्थाहरूले प्रायोजन गरेका छन्। यसरी प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थी समूहले प्रायोजक कम्पनी तथा संस्थालाई प्रतिनिधित्व गर्छन्।
प्रायोजक कम्पनी तथा संस्थामा डिजी स्कुल ग्लोबल, स्टोर हाउस नेपाल, हाम्रो खेलकुद, ग्लाम हाउस स्टुडियो, युके कलेज, क्वालिटीबीच रिसोर्ट, रामेश्वर इन्टेरियर्स, सनवे कलेज, अनलाइन ल्यापटप पसल, ब्रोडवे इन्फोसिस हुन्।
त्यसैगरी सेरेस अटोमोटिभ (एलएलआर), कोइराला साउण्ड्स एण्ड लाइट्स, हिमालयन ग्रुप, टेक एण्ड ट्रेन्डी, चाङ्गुनारायण नगरपालिका, श्रेय ग्रुप कन्सल्टेन्सी, डाँफेलिङ्क, भायानेट कम्युनिकेसन, होटल डायमण्ड प्यालेस, द फ्रेन्ड्स क्याफे, इन्स्टिच्युट अफ एनालिटिक्स (आइओए), युनिक्याम्पस ग्लोबल लगायतका कम्पनीले पनि विद्यार्थी समूहलाई सहयोग गरेका छन्।
कलेजले यस लिगलाई प्रतियोगिता मात्र नभएर मनोरञ्जन सहितको व्यवहारिक सिकाइ मानेको छ। यसले विभिन्न क्षेत्रको उद्यमीहरूसँग विद्यार्थीलाई सहकार्य गर्न सिकाउने भएकाले उनीहरूले जीवन्त सीप सिक्ने कलेजको भनाइ छ।
रोबो वारियर्स लिग अन्तर्गतका खेल कलेजमा नै उपस्थित भएर निःशुल्क हेर्न सकिन्छ।
यदि कलेजमा हेर्न जान सम्भव नभए कलेजको फेसबुक र युट्युब च्यानल तथा हाम्रो खेलकुदको युट्युबमार्फत पनि प्रत्यक्ष प्रशारण हेर्न सकिने व्यवस्था गरिएको छ। जहाँ लाइभ कमेन्ट्री पनि सुन्न सकिन्छ।
यस लिगमा प्रथम हुने समूहले तीन लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्।
क्रमशः द्वितीय र तृतीय हुने समूहले एक लाख र पाँच हजार रूपैयाँ प्राप्त गर्नेछन्।